काठमाडौं । राष्ट्रिय राजनीतिमा कांग्रेस मुद्दाहीन बनेको र नेतृत्वको गलत भूमिकाका कारण पार्टी फस्दै गएको निश्कर्ष निकाल्दै कांग्रेसका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमितिको बैठकका लागि हस्ताक्षर अभियान चलाउने भएका छन् ।
महामन्त्री शशांक कोइरालाको महाराजगंञ्जस्थित निवासमा शुक्रवार साँझ बसेको रामचन्द्र पौडेल समुहका कांग्रेस नेताहरुको बैठकले नेतृत्वको गलत भूमिकाका कारण पार्टी एजेण्डाहीन बनेको भन्दै देउवाको तिब्र आलोचना भएको हो । उनीहरुले केन्द्रीय कार्यसमितिको बैठक तत्काल बसी पार्टी संस्थागत विधिबाट चलाउन माग गर्ने भएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बसी राजनीतिक विषयमा संस्थागत निर्णय लिन दवाव दिए पनि सभापति देउवाले अटेर गर्दै आएको भन्दै अव बैठकका लागि समुहिक दवाव दिने निश्कर्ष निकालेका छन् । अव पनि बैठक नबोलाए केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरी बैठकका लागि लिखित आग्रह गर्ने त्यसपछि पनि बैठक नबोलाए आफैंले बैठक डाक्ने निश्कर्ष उनीहरुको छ ।
बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, वलबहादुर केसी, पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडू लगायत थिए । शुक्रवार राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको मात्रै बैठक बसेकाले शनिवार फेरि बैठक बसी सभापति देउवालाई बैठक बोलाउन हस्ताक्षर बुझाउने कार्यक्रम बनाएका छन् ।
कांग्रेस सरकारमा सबैभन्दा ठूलो पार्टी रहे पनि कमजोर भूमिकामा रहेको, सरकारमा रहेका नेताहरुले विवादास्पद निर्णयमा सहभागिता जनाउँदै गएको, आर्थिक चलखेलका आधारमा गैर कांग्रेसलाई कांग्रेसको कोटामा राजदूत नियुक्त गरेको लगायतका विषयमा पनि देउवालाई लिखित रुपमा विरोध पत्र दिने तयारी भएको हो ।
उनीहरुले युएईका लागि राजदूत नियुक्त भएकी आशा लामा, वर्माका लागि राजदूत नियुक्त भएका भीम उदास र रमेश कोइराला गैर कांग्रेस भएको र उनीहरु म्यानपावर ब्यवसायमा बदनाम भएका ब्यक्ति रहेको भन्दै उनीहरुको नियुक्ति फिर्ता लिन लिखित रुपमै दवाव दिने भएका छन् । राजदूत नियुक्तिको निर्णय फिर्ता लिन देउवालाई पौडेलले संसद भवनमा भएको भेटमै आग्रह गरेका थिए । सोही क्रममा देउवा र पौडेलको भनाभन समेत भएको थियो ।
‘कांग्रेसको कोटाबाट नियुक्त भएका तीनजना ब्यक्ति कांग्रेस होइनन्, उनीहरु को हुन् ?’ पौडेलले देउवालाई सोधेका थिए । जवाफमा देउवाले भनेका थिए– उनीहरु हाम्रै मान्छे हुन् । पौडेलले भने यसले कांग्रेसको बदनामी कमाएको वताएका थिए । राजदूत नियुक्ति फिर्ता लिन पौडेल समुहले लिखित रुपमै दवाव दिने र त्यसो गर्दा पनि पार्टी नेतृत्वले नमाने संसदीय सुनुवाईमा उनीहरुको नाम अस्वीकृत गर्नेसम्मको तयारी गरेका छन् ।