सिरहा। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विपक्षी दलका गतिविधिमा अवरोध गरी लखेट्न आह्वान गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नामै लिँदै निधिले तराईमा निधेषको राजनीतिलाई प्रोत्साहित गर्नेगरी अभिव्यक्ति दिएका हुन् । कांग्रेसनिकट नेपाल महिला संघद्धारा सिराहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘गाउँ गाउँमा जानुस् एमालेलाई राष्ट्रघाती भन्नुस्, एमालेका गतिविधि हुन थाले भने लखेट्नुस् ।’
पहाड र तराईलाई मिलाउन संविधान संशोधन विधेयक ल्याइएको दावी गर्दै निधिले प्रस्तावका पक्षमा भोट नहाले एमालेलाई लाठो लिएर लखेट्न आह्वान गरे ।
एमालेले जे जे भन्यो त्यही त्यही पत्याएकोमा आक्रोश पोख्दै निधिले अगाडि भने– ‘एमाले राष्ट्रघाती हो, हामी राष्ट्रवादी हौं । अब एमालेलाई राजनीतिबाट किनारा लगाउनुपर्छ एमालेमुक्त देश बनाउनुपर्छ ।’
संविधान संशोधन विधेयक पारित नभए चुनाव पनि नगरिने चेतावनी दिएका गृहमन्त्री निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेरै विरोध गरे ।
कार्यक्रममा कांग्रेस सांसद महेन्द्र यादवले मधेसमा आएर एमाले अध्यक्ष ओलीले ठूलो जनसमुहमा भाषण गर्दा पनि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध नगरेको भन्दै आक्रोश पोखे ।