भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे पनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताए ।
उनाले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भए पनि स्थानीय निकायको निर्वाचन गर्नु पर्ने वताए । स्थायीन तहको निर्वाचन नहोस् भन्ने खेलमा बिदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्ने उनको विचार थियो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र सीके राउत एउटै शक्तिकेन्द्रबाट परिचालन भएको दावी गर्दै बिजुक्छेंले उपत्यकामा विदेशी संयन्त्रले सरकार सञ्चालन गरिरहेको आरोप लगाए । नेपालको सरकार काठमाडौमै रहेका विदेशी संयन्त्रको निर्देशनमा चलेको उनको आरोप छ । ‘कांग्रेस र माओवादी एउटै शक्तिकेन्द्रबाट परिचालित छन्’ विजुक्छेले भने, ‘कांग्रेस माओवादी पार्टी फरक हुनुको औचित्य छैन ।’
अध्यक्ष बिजुक्छेंले मधेशी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने वताए । मधेशी मोर्चाले उठाएका माग तराईका जनताको नभएको बताउँदै उनले तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने भएकाले यदि अवरोध भए सेना परिचालन गरेर भए पनि निर्वाचन गर्नु पर्ने बताए ।
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । उनले संविधान संशोधन प्रक्रिया अघि बढाउन एमालेको लचकता अपनाउनुको पछाडि विदेशी दबाब हुन सक्ने बताउँदै संविधान संशोधन पारित भए देश नरहने समेत बताए । संविधान संशोधन नभएसम्म वर्तमान सरकार टिक्ने र वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने उनको भनाइ थियो । उनले सत्ता समीकरण बदलिने सम्भावना रहेकाले तोकिएको समयमा निर्वाचन नहुने बताए ।