काठमाण्डौं । तराई मधेसमा एमालेले कार्यक्रम गरे जाइलाग्न निर्देशन दिने गृहमन्त्री विमलेन्द्र निधीलेको सार्वजनिक अभिब्यक्तिप्रति एमालेले आपत्ती जनाएको छ । एमालेले २१ फागुनदेखि सुरु गर्न लागेको मेची महाकाली अभियानमा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको जिम्मेवारी गृहमन्त्री निधि र सरकारले लिनु पर्ने एमालेले चेतावनी दिएको छ ।
आइतबार कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको कार्यक्रमलाई लाहानमा सम्बोधन गर्दै गृहमन्त्री निधीले एमालेलाई राष्ट्रघाती भन्दै लखेट्न आव्हान गरेका थिए । गृहमन्त्री निधीको अभिब्यक्तिलाई उत्तेजक भन्दै एमालेले आफ्नो अभियानमा कुनै अवाञ्छित घटना भए त्यसको जिम्मेवारी निधी र सरकारले लिनु पर्ने भनेको छ ।
सुरक्षा जिम्मेवारी भएका गृहमन्त्रीले नै प्रमुख विपक्षीका कार्यक्रममाथि जाइलाग्न आव्हान गरेपछि एमालेले मंगलवार विज्ञप्ति निकालेर त्यसको विरोध गरेको हो । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलवार विज्ञप्ति जारी गर्दै निधिको उत्तेजक भनाईप्रति आपत्ती जनाएका हुन् ।
राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय भएको एमालेको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ’ एमालेको विज्ञप्तिमा उल्लेख छ ।
फागुन २१ देखि हुने अभियानमा कुनै अवाञ्छित गतिविधि भए त्यसको जिम्मेवार गृहमन्त्री निधी र सरकार हुनु पर्ने एमालेले स्पष्ट पारेको छ । ‘हामीले हाम्रो अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको छ’ एमाले सचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्वतः स्पष्ट छ ।’
यस्तै स्थिति भड्काउने कुनै पनि अभिब्यक्ति नदिन एमालेले आग्रह गरेको छ । ‘हाम्रो पार्टीले तराई–मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर त्यसरी अभिव्यक्ति नदिन, राजनीतिक कार्यक्रमको राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न र स्थितिलाई भड्काउने खालका कुनै पनि हर्कत नगर्नका लागि नेकपा (एमाले) आह्वान गर्दछ’ विज्ञप्तिमा उल्ल्ेख छ, ‘त्यस्ता सद्भाव, एकता र लोकतन्त्रविरोधी तत्वहरुसँग सजग रहन हाम्रो पार्टी आमकार्यकर्ता र जनसमुदायलाई अपिल गर्दछ ।’