काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले मधेसमा आगो झोसेर अन्त शान्ति खोज्दै गरेको आरोप लागएका छन्। पार्टीले मंगलबार काठमाडौंमा गरेको अन्तरक्रियामा उनले अहिले मधेस अझै अशान्त रहेकाले निर्वाचनको न्युनतम वातावरण पनि नबनेको दावी गरे।
‘सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेको छ। जनसंख्याको ठूलो हिस्सालाई पेलेरै निर्वाचन हुन्छ?’ भट्टराईले प्रश्न गरे ’मधेसमा आगो झोसेर अन्त शान्ति कसरी प्राप्त हुन्छ? एक ठाउँमा आगो झोसेर अन्त शान्ति खोज्ने प्रयास कसरी सम्भव हुन्छ?’ उनले संविधान संशोधन मार्फत सबै पक्षको माग संवोधन र स्थानीय तहको सीमा र संख्या तत्काल टुंग्याएपछि मात्र निर्वाचनको वातावरण बन्ने दावी गरे।
भट्टराईले स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्र पनि निर्वाचनअघि नै निर्धारण गर्नुपर्ने बताए। अहिलेको सरकारले निर्वाचनका लागि राष्ट्रिय एकता कायम गर्ने क्षमता नराख्ने भन्दै सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग गरे। भट्टराईले तीनवटै तहको निर्वाचन एक वर्ष्भित्रै एकीकृत ढंगले गर्नुपर्ने बताए।
‘तीनवटै तहको निर्वाचन समयमा नै हुनुपर्छ। सबै सहभागी भएर निर्वाचन हुनुपर्छ। असन्तुष्ट सहभागीताविनाको निर्वाचन अर्थपूर्ण हुँदैन। स्थानीय तह संघ र प्रदेशको एकीकृत ढंगले गर्नुपर्छ’ उनले भने।