काठमाडौं, १८ फागुण। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले सबै दलले चुनावमा भाग लिनुपर्ने बताउँदै भने,‘निर्वाचन ऐतिहासिक कुरा हो, अब पनि मोर्चाले चुनावमा भाग लिन्न भन्नुहुँदैन, यदि मोर्चाले भाग नलिए पनि चुनाव हुन्छ।’ उनले मोर्चाले चुनावमा भाग निलए उसकै लागि आत्मघाती हुने बताए।
सापकोटाले धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले सिंहदरबारको अधिकार जनतामा पुर्याउने अवसरलाई सबै दलहरुले उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने,‘चुनाव अहिलेको अपरिहार्य आवश्यकत्ता हो, संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन वटै तिहको निर्वाचन गराउनुपर्नेछ, त्यसैले सबै दल चुनावको लागि तयारी हुनुपर्छ।’
उनले मधेशी मोर्चामा आत्मविश्वासको कमी रहेको समेत आरोप लगाए। सापकोटाले भने,‘मोर्चाका नेताहरुमा आत्मविश्वासको कमी छ, मधेशी जनता राष्ट्रियताका पहरेदार हुन्, मधेशका जनतालाई अधिकार दिने कुरामा नेताहरु किन डराउँछन् ?’
सापकोटाले प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै मधेश, हिमाल, पहाडलाई जोड्न प्रयत्न गरेको उल्लेख गर्दै भने,‘प्रधानमनत्री प्रचण्डको भगीरथ प्रयत्न नै यसैको लागि हो, मधेशी मोर्चालाई आँफैलाई चाहिएको संविधान संशोधनको लागि कुनै चिन्ता छैन, उल्टै प्रस्ताव पारित नभए चुनाव हुन दिन्नौं भनेर घुर्काउने काम गर्नुहुन्छ, सरकार त संशोधन प्रस्ताव पारित गराउनको लागि पूर्ण विश्वस्त छ।’
उनले सरकारले निर्वाचनको मिति घोषणा गरेर साहसिक कदम भएको टिप्प्णी गरे। उनले केही दल र व्यक्तिहरुले पहिले केन्द्रको चुनाव गर्नुपर्छ भनेर माँग गरिरहेकोप्रति टिप्पणी गर्दै भने,‘केन्द्रको चुनाव पहिले गर्ने कुरा उल्टो कुरा हो।’ उनले चुनावको मिति घोषणा भैसकेको अवस्थामा बाबुराम भट्टराईले चुनावको मिति फिर्ता लिनुपर्छ भनेर माँग गर्नु मुर्खता र उदेक लाग्दो कुरा भएको आरोप लगाए।