मार्चाका नेताले भने:-एमालेले मधेशमा अभियान गर्न पाउँछ,सप्तरीबाटै सुरु गर्नुहोस

मार्चाका नेताले भने:-एमालेले मधेशमा अभियान गर्न पाउँछ,सप्तरीबाटै सुरु गर्नुहोस
राजनीति

मधेशी मोर्चाका शीर्ष नेता महेन्द्रराय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले भने, ‘अब एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेशी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’

यादवले एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यैपनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । उनले भने, ‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी विथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौं ।’

उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताउँदै भने, ‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नाम गराउन खोजिएको छ ।’ उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे । उनले भने, ‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए । उनले भने, ‘एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो?, यो नश्लवादी गतिविधि हो ।’

उनले घट्नाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे। ‘यादवले थपे, ‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं ।’

उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘संसदभित्रबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’

Post Comment