पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वर्तमान र पूर्व पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह साढे तीन बजे बस्ने बैठकमा स्थानीय निर्वाचन र तयारीका विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार संविधान संशोधनको विधेयकलाई पारित गरेर असन्तुष्ट पक्ष मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने विषयमा छलफल हुनेछ ।
संविधान संशोधनको विधेयक आफूहरूले भने अनुसार परिमार्जनसहित पारित भएपछि निर्वाचनमा सहभागी हुने मोर्चाको धारणा छ ।
कांग्रेसको बैठकमा सप्तरी घटना, कञ्चनपुरमा भारतीय पक्षबाट भएको गोली प्रहार, पार्टीको संगठन सुदृढीकरण आदिका विषयमा पनि छलफल हुने बुझिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरिरहेका बेला वर्तमान र पूर्व पदाधिकारीहरूको बैठक बस्न लागेको हो ।