भैरहवा,। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा बस्ने मधेशी मोर्चा, माओबादी र कांग्रेस एक–आपसमा कुटेको र रोएको अभिनय गर्ने काममा लिप्त भएको आरोप लगाएका छन्।
भैरहवामा आईतबार एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै ओलीले मधेसलाई ठग्न मधेसी मोर्चा गठन गरिएको बताउँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। वर्तमान सरकारमा चारतिर टाउको फर्केका दललाई मीत लगाइदिएर गठबन्धन बनाइएको र मीत लगाइदिनेले नै संविधान संशोधन चाहेको उनले स्पष्ट पारे।
उनले अघि भने,‘नेपालमा देशभक्त र विकासप्रेमी सरकार हटाएर विदेशीको इसारामा चल्ने सरकार ल्याइएको छ।’ भारतीय सुरक्षकर्मीले कञ्चनपुरमा गोबिन्द गौतमको हत्या गरेको घटना उल्लेख गर्दै उनले नेपाल सरकार उक्त हत्या काण्डमा लाचार भएको टिप्पणी गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कञ्चनपुरमा नेपालका गाँउ पसेर भारतीय सुरक्षाकर्मी गोली हानेको उल्लेख गर्दै भने,‘तर हाम्रो सरकार बोल्दैन, मौन छ, तर सप्तरीमा नेपालका सुरक्षकर्मीमाथि बम आक्रमण गर्नेलाई यो सरकार केही भन्दैन्, उल्टो आफ्नो देशको सुरक्षा गर्ने प्रहरीलाई कारवाही गर्छु भन्छ, यो कसको सरकार हो?, हामीले त बुझ्न सकेको छैन्।’
अहिले चुनाव गर्नुपर्ने बेला भएको बताउँदै उनले भने,‘तर सरकार संशोधन गर्छु भनेर हिडेको छ, प्रदेश पाँच टुक्रयाउने नियत मीत लगाइदिने कै इसारामा देखिएको हो, नेकपा एमालेले संशोधन हुन दिँदैन्।’’ बाबुराम भट्टराईमाथि जाइलाग्दै उनले भने ‘मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन्, नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।’