–उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले हिन्दूराष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचन अभियानलाई तीव्रता दिने बताएका छन् ।
जनमत हिन्दूराष्ट्रको पक्षमा रहेकाले सोही एजेन्डालाई मूल नारा बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
१० चैतबाट देशभर निर्वाचनको अभियान सञ्चालन गर्ने तयारीमा रहेका पार्टीका नेतालाई बुधबार काठमाडौंमा प्रशिक्षण दिँदै अध्यक्ष थापाले निर्वाचनमा उत्साहका साथ खटिन पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।
पार्टीले लिएको पछिल्ला अडान र निर्णय उत्साहजनक रहेको उल्लेख गर्दै थापाले सोहीअनुसार निर्वाचन अभियानमा जुट्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १० चैतदेखि सबै जिल्लामा एक साथ स्थानीय तहको निर्वाचनको तयारी थाल्ने योजना बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र स्थापना गर्ने पार्टीको लक्ष्यमा जनमत रहेको विश्लेषण गर्दै आएको छ।
उसले अब हुने निर्वाचनमा तेस्रो शक्ति बन्ने सुनिश्चित भएको दाबीसमेत गर्दै आएको छ।