प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काम र लोकप्रियता देखेर कांग्रेस चुनावसँग भाग्न खोजेको आरोप लगाएका छन ।
पार्टीको मेची–महाकाली अभियान समापनको भोलिपल्ट सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘चुनावबाट कहिलेसम्म डराउने ? कहाँ भाग्ने ? चुनाव एकदिन त आउँछ आउँछ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशको सार्वभौमिकताको रक्षा र समृद्धिका लागि एमालेसँग दृष्टिकोण, योजना र कार्यक्रम रहेको बताउँदै भने,‘एमालेसँग भीजन छ, हाम्रो पार्टीको भीजन देखेर काँग्रेस डरायो, किनकी उ सँग भीजन छैन, योजना छैन् ।’
ओलीले कांग्रेस राष्ट्रिय दायित्व पूरा गर्नबाट उदासीन रहेको आरोप लगाउँदै भने, ‘एमाले देश बनाउने पार्टी हो, एमालेसँग दृष्टिकोण छ, योजना छ, कार्यक्रम छ खाका छ, नेपाली कांग्रेसको कन्तबिजोग छ । ७ सालमा क्रान्ति गर्ने कांग्रेस अहिले मोर्चाका नाममा ४ जना दलाल उफ्रिंदा थरथर काम्छ, कांग्रेस जनताको पक्षमा बोल्दैन चार जना दलालको पक्षमा उभिन्छ ।’
ओलीले भने, ‘कांग्रेसलाई बहुमत हरेक पटक बाँदरलाई नरिवलजस्तै भयो, एमालेका हातमा सरकार हुँदा विकासका कामले अग्रता पाए, एमालेका हातमा जहिले सरकार हुन्छ बाटो बन्न थाल्छ, चक्रपथ बन्छ, सहर बन्छन्, उद्योगहरु सुरु हुन्छन्, कलेज विश्वविद्यालय बन्न थाल्छन् ।’
उनले आफ्नो पार्टीको दबाबका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भएपनि अहिले चुनाव गर्न आलटाल गरिरहेको गुनासो पोखे। उनले भने,‘तर हामी यो सरकारले चुनाव गरेन्, हामी बाध्य भएर आन्दोलनमा उत्रिन्छौं।’