“अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ”

“अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ”
राजनीति

सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनलाई थाती राखेर देशमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने ठोकुवा गर्नुभएको छ ।

रौतहट सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले माध्यमिक परीक्षा समाप्त भएपछि सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभयो ।

“अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको आश्वासन दिएर मधेसीलाई ठगी गरेको उहाँको भनाइ थियो ।

पटकपटक संशोधनको झुठो बाचा गरेर प्रधानमन्त्रीले मधेसीलाई ठगेकाले वर्तमान सरकारले राष्ट्र र मधेसीको हितमा काम गर्न नसक्ने नेता यादवको आरोप थियो । पत्रकार सम्मेलनमा फोरमका केन्द्रीय सदस्य रामकिशोर यादव, जिल्ला अध्यक्ष रामनिवास यादव, पूर्व सांसद बबन सिंह, मोर्चाका नेता रेवन्त झालगायतको सहभागिता रहेको थियो ।

Post Comment