पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका संस्थापक सदस्यसहित एकैपटक २६ जना नेताले पार्टी परित्याग गरेका छन् ।
मलेसियाका संस्थापक सदस्य एवं मध्यपूर्व सल्लाहकार तथा प्रादेशिक केन्द्रिय सदस्य राजुप्रसाद ढुंगाना ‘प्रनिल’सहित २६ जना सदस्यले आज एक बिज्ञप्ति जारी गर्दै सामुहिक राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।
पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएको तथा बैकल्पिक राजनीतिको परिकल्पना गरेपनि सो अनुसार पार्टी अगाडि बढ्न नसकेको भन्दै राजीनामा दिएको उनीहरुले बताएका छन् ।
नयाँ शक्तिको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि भएपनि पार्टी नितान्त पुरानै राजनीतिको परम्परागत प्रवृत्तिबाट भिन्न नरहेको उनीहरुले आरोप लगाएका छन् ।
देशलाई संघीयतातर्फ लगेर उपलब्धि संस्थागत गर्नुको सट्टा नयाँ शक्तिले मधेसी मोर्चासंग साठगाठ गरेर पार्टीलाई कमजोर काम नलाग्ने बताएका छन् ।
‘संविधान निर्माण पश्चात् निर्माण भएको संविधानलाई आधा गिलास खाली र आधा गिलास भरी भनेर फेरि देशमा अनेक किसिमका द्वन्द्व सिर्जना गर्ने काममा अग्रसर भएको ठहरियो, जसको कारण नयाँ शक्ति आफैले प्रमाणित गरिदिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, ‘पार्टी डा. बाबुराम भट्टराईको निजी कम्पनी जस्तो झल्किदै गएकोले अब कसैले नकार्न सक्दैन, नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो, तसर्थ हामीले सोच बिचार गरेर नयाँ शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका छौं,’ बिज्ञप्तिमा उल्लेख छ ।
यसअघि नयाँ शक्तिका आर्थिक विभाग प्रमुख एवं पूर्व अर्थसचिव रामेश्वर खनालले पनि पार्टी परित्यागको घोषणा गरेका थिए । उनले केही दिनअघि मात्रै राजनीति आफ्नो हातमा नरहेको र आफू फिट नरहेको भन्दै नयाँ शक्तिमा नरहेको स्पष्ट पारेका थिए ।