मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा फर्कन लागेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।
विराटनगरमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले आफू काँग्रेसमा नर्फने प्रष्ट्याए । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न गलत हल्ला चलाइएको दाबी गरे । ‘म काँग्रेसमै फर्कने भन्ने हल्ला निराधार हो’, गच्छदारले भने, ‘यस्तो हल्लाका पछाडि तपाईंहरुको कोही नलाग्नुहोला ।’ यद्यपि सम्मानजनक रुपमा काँग्रेससँग पार्टी एकीकरण गर्न भने तयार रहेको बताए ।
स्थानीय तहको निर्वाचनपछि पार्टी एकीकरण हुन सक्ने उनको भनाइ थियो । अन्य दुई चरणको निर्वाचनमा भने काँग्रेससँग कार्यगत एकता हुन सक्ने गच्छदारले प्रष्ट्याए ।
गच्छदारले राजनीतिक उपलब्धीहरुको रक्षाका लागि निर्वाचनको अपरिहार्यतामा जोड दिँदै सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्नसमेत निर्देशन दिए । उनले मधेसी मोर्चालाई विश्वासमा लिएर संविधान संशोधन विधेयक टुंगो लगाउन सरकारसँग आग्रह गरे ।