संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयमध्ये सिमांकनलाई तत्काल थाती राखेर बाँकी तीन वटा विषयलाई पारित गराउनको लागि प्रमुख दलहरुवीच करिब करिब सहमति बनेको छ।
मधेशी मोर्चाभित्रपनि यो विषयलाई लिएर मत विभाजित बनेको छ। मोर्चाका शीर्ष नेताहरु नै अहिले बाझिएका छन्। केहीले सिमांकनबाहेकका विषयलाई अहिले टुँगो लगाएर चुनावमा जानुपर्ने पक्षमा पुगेका छन् भने केही नेताहरु भने सिमांकनलाई अहिले नै टुँगो लगाउनुपर्ने भन्दै त्यसो नभए चुनावमा भाग नलिने अडानमा छन्।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन उड्नुअघि संविधान संशोधन प्रस्तावमा सहमति खोज्नको लागि आह्वान गरेको प्रमुख तीन दल र राप्रपासहित मोर्चाको बैठकमा करिब करिब सिमांकनबाहेकका विषयलाई पारित गराएर अहिले चुनावमा जानेबारेमा सहमति बनेको थियो।
सिमांकनको विवादपनि टिओर सहित आयोग बनाएर जाने सरकारको प्रस्ताव रहेको छ। यसमा मोर्चाका शीर्ष नेताहरु सहमतिको नजिक पुगेका छन्। मोर्चाका शीर्ष नेता महन्थ ठाकुर भन्छन्,‘हो, हामी सिमांकनका विषयलाई अहिले तत्काल थाती राखेर जान सक्छौं, तर सरकारले यसबारेमा स्पष्ट खाका प्रस्तुत गर्नुपर्यो नि।’
नेता ठाकुरले हिजोको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुको बोली सन्तोषजनक र आशावादी रहेको बताए। उनले थपे,‘तर उहाँहरुको व्यवहार कस्तो हुन्छ भन्ने कुरा हेर्न बाँकी छ।’
मधेशी मोर्चालाईपनि यतिवेला चुनावमा जानको लागि दबाब छ। चुनाव रोक्नुहुँदैन भन्ने पक्षमा भारत पनि रहेको स्रोतको दाबी छ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र यतिवेला सबै पक्षवीच सहमति गरेर जानुपर्छ भन्ने पक्षमा बहुमत छ। तर मोर्चाका अर्का प्रभाशाली नेता महेन्द्र राय यादवले हिजोको बैठक पनि खासै उपलब्धिमूलक नभएको दाबी गरे।
मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवपनि अहिले आन्तरिक छलफलमा जुटेका छन्। उनले आज पार्टीको बैठक बोलाएका छन्।