सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुँदैन कि भनेर कसैको मनमा शंका भए त्यसलाई आजैको मितिबाट हटाउनको लागि आग्रह गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सापकोटाले कानूनी, प्राविधिक तथा व्यवस्थापकीय हिसाबले निर्वाचनको तयारी भैरहेकोले अब मुलुक निर्वाचनको बाटोमा अघि बढिसकेको स्पष्ट पारे । उनले भने, ‘निर्वाचन हुन्छ, तोकिएकै मितिमा हुन्छ, यसको लागि आवश्यक सबै प्रक्रियाहरु सुरु भैसकेका छन्, सरकार पूर्ण प्रतिबद्ध छ, निर्वाचन आयोगलाई जस्तोसुकै सहयोग गर्नपनि तयार छ ।’
उनले मधेशी मोर्चापनि चुनाव जाने कुरामा आफू विश्वस्त रहेको बताउँदै भने, ‘मोर्चापनि चुनावमा जाने तयारीमा छ, उसले आधिकारिक निर्णय गर्न मात्रै बाँकी छ, मधेशमा केही अतिवादीहरुले निर्वाचनलाई भाँड्न खोजिरहेका छन् । भयवित वातावरण सिर्जना गर्न खोजिरहेका छन्, यसमा मोर्चा नै सर्तक हुनुपर्छ ।’
सापकोटाले मधेशी मोर्चाको पछिल्ला कदमहरु निर्वाचन र संशोधन सँगसँगै होस भन्ने उद्देश्यले अभिप्रेरित रहेको स्पष्ट पारे