नयाँ शक्ति भ्रष्टाचार र अनियमितताको फोहोरमा डुबेका सुँगुरसँग कुस्ती खेल्नदैन :-संयोजक डा. भट्टराई

नयाँ शक्ति भ्रष्टाचार र अनियमितताको फोहोरमा डुबेका सुँगुरसँग कुस्ती खेल्नदैन :-संयोजक डा. भट्टराई
राजनीति

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरु भ्रष्टाचार र अनियमितताको फोहोरमा सुँगुर जसरी डुबेकाले तिनीहरुसँग कुस्ती खेल्न नसकिने बताएका छन् ।
नयाँ शक्ति पार्टी, नेपालले सुरु गरेको हिमाल-पहाड-मधेस/तराई राष्ट्रिय अभियानको क्रममा शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘सुँगुरसँग कुस्ती खेल्नु हुँदैन, खेलियो भने आफैंलाई फोहोर लाग्छ’ उनले भने, ‘हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं ।’
उनले नयाँ शक्तिको परिकल्पना सबैप्रकारको भ्रष्टाचारबाट मुक्त सुशासन र सदाचारयुक्त देश निर्माण भएको बताएका छन् । उनले भने, ‘नयाँ शक्ति आजभन्दा २५०० वर्ष अघि गौतम बुद्धले विश्वलाई एउटा सन्देश दिएका थिए, आज हामी त्यस्तै अर्को सन्देश दिन उभिएका छौं ।’
नेपालको सन्दर्भमा समृद्धि कुनै काल्पनिक सपना नभएको उल्लेख गर्दै उनले हाम्रो जीवनकालमै समृद्धि सम्भव भएको स्पष्ट पारे । ‘हामीले ठूलाठूला क्रान्तिहरु गर्‍याै, संविधान बनेपछि सबैको सपना थियो कि नेपाल समृद्धिमा पुगोस्,’ उनले अगाडि थपे, ‘यो कुनै काल्पनिक सपना होइन, नेपाल जस्तो ठाउँ विश्वमा कहिं पनि छैन, नेपालको मानवीय र प्राकृतिक स्रोत सम्पदा हेर्दा यो वास्तविक सपना हो ।’
उनले नयाँ शक्ति वैकल्पिक विचारसहितको शक्ति भएको भन्दै देश विदेशमा रहने व्यक्तिहरुको माझ मात्र होइन, संसारले नै नयाँ शक्तिलाई चासोपूर्वक हेरिरहेको बताए ।
एक फरक प्रसंगमा उनले बुटवल सुनौलीको बाटो बन्न लागेको देख्दा निकै उत्साही भएको भन्दै खुसी व्यक्त गरे । ‘जसरी विहारमा नितिशकुमारले छोटो समयमा ठूलाठूला सडकहरु बनाउने काम गरेका थिए,’ उनले भने, ‘मैले आफैंले ६५/६६ सालको बजेटमा दशवटा मुख्य ६ सहरहरुमा ६ लेनको बाटो बनाउनुपर्छ र भारतबाट नेपाल पस्दा नेपाल कम रहेनछ भनेर सोचून् भनेर सुरु गरेको थिएँ, त्यो सपना अहिले पूरा हुँदै गएको छ, म खुसी छु ।’
उनले विकास र समृद्धिको निम्ति सबैले एकैसाथ समृद्धिको सपना देख्नुपर्ने र सबैबीच दृढ संकल्प र एकता हुनुपर्ने आवश्यकता औंल्याए । नयाँ शक्तिले देशलाई तोड्न र टुक्र्याउन खोज्ने शक्तिहरुका विरुद्ध देश जोड्ने अभियानको रुपमा नयाँ शक्ति पार्टीले जारी अभियान संचालन गरेको बताए ।
‘२५०० वर्ष अघि सभ्यताको सुरुवात भएको यो भूमिमा जसले बुद्ध नेपालमा जन्मिएका भनेर भाषण गर्छन्,’ उनले प्रश्न गर्दै भने, ‘तर, त्यही भूमिमा जन्मिएका यहाँ बस्ने आदिवासी मधेशी थारुहरु नेपाली हैनन् भनिरहेका छन् । के यो तथ्य हो ?’
उनले अगाडि थपे, ‘यहि भूमिमा जन्मिएका र यो भूमिको रक्षा गर्नेहरुलाई गैरनेपाली भन्न मिल्छ ? गोर्खा राज्य विस्तार गरेर हाम्रा बाउबाजेले आर्जेको यो देश केही उट्पट्या मान्छेहरुको दुष्प्रयासका कारण कतै विखण्डित हुने त होइन ?’
एकल जातीय अहंकारवादका विरुद्ध मधेशका केही निराशावादी युवाहरुले छुट्टै देश बनाउनुपर्छ भनेर जुन अभियान सुरु गर्दा त्यसले बिखण्डनको खतरा देखापरेकोमा उनले चिन्ता व्यक्त गरे । ‘यो निकै गम्भीर विषय हो, यो रोक्नुपर्छ र इन्द्रधनुषी राष्ट्रको निर्माण गर्नुपर्छ,’ उनले भने ।

Post Comment