गरिवी निवारण गरेर समृद्ध र आकर्षक देश बनाउनु छ :-एमाले अध्यक्ष ओली

गरिवी निवारण गरेर समृद्ध र आकर्षक देश बनाउनु छ :-एमाले अध्यक्ष ओली
राजनीति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अधिकार अधिकार मात्रै भनेर बस्न नहने बताएका छन्। उनले अब मुलुकको समृद्धि कसरी प्राप्त गर्न सकिनछ भन्नेतरि सबै लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले नेपाललाई बाहिरी दुनियाँसँग जोड्न पनि चीनको ‘वान बेल्ट वान रोड’को अवधारणा फलदायी हुने स्पष्ट पारे।

निर्वाचनको घोषणा पत्र तयारीको कामलाई समेत सघाउ पुर्‍याउने उद्देश्यका साथ ललितपुरमा आयोजित विद्धत सभालाई सम्बोधन गर्दै उनले नेपालले अब बाहिरी र भित्री दुवै दुनियाँसँगको सम्बन्ध विकासका लागि सार्कको मात्रै भर पर्न नहुने पनि स्मरण गराए।

अध्यक्ष ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैं राज्य पीडित भएको टिप्पणी पनि गरे। सरकारले काम गर्ने वातावरण बनाउन नसकेकै कारण पुनर्निर्माण प्राधिकरणले काम गर्ने अवस्था नरहेको उल्लेख गर्दै सरकारले राज्यका सबै क्षेत्रलाई पीडा दिँदै गएको आरोप पनि लगाए।

ओलीले सुशासन, पुनर्निर्माण, स्वास्थ्य, शिक्षा सबै क्षेत्र राज्य पीडित भएको उल्लेख गर्दै त्यसबाट उन्मुक्ति दिने काममा आफनो पार्टी प्रतिवद्ध रहेको बए। उनले पुनर्निर्माण प्राधिकरणको सिईयो परिवर्तन गर्दा झनै अनुभवको कमी देखिएको भन्दै भूकम्प पीडितलाई सरकार आफैंले पीडा थपिदिएको पनि स्पष्ट पारे।

विद्धत सभामा ओलीको सम्बोधनको पूर्णपाठ

विद्वत वर्गका कुरा सुन्ने हिसावले यो कार्यक्रम आयोजना गरिएको हो । विकास र समृद्धिवारे गहन ढंगले छलफल गर्ने हाम्रो उद्धेश्य हो । हाम्रा समस्या के हुन् ? तिनलाई कसरी हटाउने ? आवश्यकता के हुन् ? तिनलाई कसरी प्राप्त गर्ने ? यस विषयमा हामीले निक्र्याैल गर्नु छ । अव अधिकार अधिकार मात्रै भनेर हुँदैन । समृद्धि कसरी प्राप्त गर्न सकिन्छ त्यतातिर लाग्नु पर्छ ।

हामीले लोकतन्त्रलाई कति सदुपयोग गर्न जानेका छौं, गणतन्त्रलाई कति सदुपयोग गर्न जानेका छौं ? यसले धेरै कुरा हाम्रो प्रगति निर्भर गर्छ । जनताको हातमा सार्वभौमसत्ता हाम्रो मुख्य आधार हुनु पर्छ । त्यसको प्रयोग कसरी सबैभन्दा बढी ब्यवहारिक हुन्छ ? त्यतातिर लाग्नु पर्छ ।

संविधान जारी भइसक्यो । त्यसलाई संस्थागत गरेर कसरी विकास र समृद्धिमा लगाउने । संक्रमणकाल संबैधानिक र राजनीतिक हिसावले पनि लम्याउन मिल्दैन । जति लम्बिन्छ त्यति अन्यौलता र जनतामा निराशा बढ्छ । त्यति नै स्वार्थी तत्वहरु सक्रिय हुनेछन् । निर्वाचन गर्नु पर्छ । तर लोकतन्त्रमा निर्वाचन सशर्त हुँदैन । यसो भएन भने निर्वाचन हुँदैन भन्न हुँदैन ।

त्यसो भएन भने कहिलेसम्म निर्वाचन हुँदैन ? आज म जिम्मेवार पार्टी र ब्यक्तिहरुले नै निर्वाचनका लागि सर्त राखेको सुनिरहेको छु । दुईचारजनाको सर्तमा लोकतान्त्रिक प्रक्रिया अवरोध हुने हास्यास्पद कुरा भइरहेको छ । हामीले ०७४ सालभित्र तीनवटा तहका निर्वाचन हुनु पर्छ ।

हाम्रो बौद्धिक समुदायले अव अधिकारका कुरा मात्रै होइन समृद्धिका प्रश्नहरुमा ध्यान दिनु पर्छ । अव विकासका निम्त आधार तयार गरेर अघि बढाउनु पर्छ । ती आधारलाई कसरी अघि बढाउने ? हामीले कस्तो देश बनाउन चाहेका हौं ? एमाले दलीय स्वार्थ भन्दा माथि उठ्छ । लोकतन्त्र, सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रिय एकता, र देशलाई सामाजिक सद्भावमा लैजान एमाले आफ्नो स्वार्थको घेरामा आफूलाई सिमित राख्दैन । हामी देशलाई समृद्धिमा लैजान चाहन्छौं ।

हामीले अव कुन कुन क्षेत्रमा कसरी काम गर्ने ? पूर्वाधारहरु बनाउनु छ । ऊर्जाका क्षेत्रमा काम गर्नु छ । सञ्चार प्रविधिको क्षेत्रमा प्रगति गर्नु छ । भर्खरै डा युवराज खतिवडाले उहाँको साथमा कापी कलम छैन भन्नु भो । धेरै अघिदेखि उहाँले कलम बोक्नु भएको छैन । अर्थात् दुनियाँ बदलिंदैछ । दुनियाँ नै इन्टरनेट र विज्ञान प्रविधिको क्षेत्रमा जाँदैछ । पेपरलेस अफिस बन्दैछन् । पेपरलेस मनीको दिशामा पनि मुलुक जाँदैछ । हामीले सबै क्षेत्रमा कस्तो विकास गर्नु पर्छ ? शिक्षामा के गर्नु पर्छ ? यो यो क्षेत्रमा यो यो गर्नु पर्यो भनेर योजना बनाउन ढिलो भइसक्यो ।

विकासमा हाम्रो सम्भावना के हो ? हाम्रो जनशक्तिलाई उत्पादनमा कसरी लगाउन सकिन्छ ? उत्पादनका क्षेत्रहरु तोकेर कसरी काम अघि बढाउन सकिन्छ ? हामीले तयारी गर्नु छ । हामीले गतवर्ष आत्मनिर्भरतामा कसरी अघि बढ्ने भन्ने केही कार्यक्रम ल्यायौं । खाद्यान्नको आत्मनिर्भरताको योजना अघि सारेका थियौं । हाम्रो वैदेशिक ब्यापार घाटामा छ । आत्मनिर्भर बनाएर हामीले निर्यात गर्न सक्यौं भने वैदेशिक ब्यापार सन्तुलन कायम गर्न सक्छौं ।

विकासका धेरै कुरा हाम्रो आत्मनिर्भरतामा निर्भर छन् । तर, सबै कुरामा आत्मनिर्भर नै हुन सकिन्छ भन्ने छैन । केही कुरा यहाँ नहोलान् । तर, हामीले प्रयास गर्दा आत्मनिर्भर हुन सकिने कुरा धेरै छन् । कृषि आधारित जनसंख्यालाई कृषिको आधुनिकीकरणले कृषि उद्योगमा बदल्न सक्छौं । त्यसले रोजगारीको अवसर सिर्जना हुन्छ ।

यहाँ छिमेक सम्बन्धका बारेमा चर्चा चल्ने गर्छ । वैदेशिक मामिलाका बारेमा चर्चा चल्छ । मैले नेतृत्व गरेको सरकार ढाल्ने बेलामा शब्दकोष शब्दको अर्थ नै अर्काे लाग्नेगरी सन्तुलित विदेश नीतिको ब्याख्या गरियो । त्यसबेलाको विदेश नीति असन्तुलित भनियो र अहिलेको सम्बन्धलाई ‘सन्तुलित’ भनिंदैछ । खैर यो सबैले देखेको र बुझेको कुरा हो । हामी भूपरिवेष्ठित देशका नागरिक हौं, हामी बाटो लिन जता पनि जान सक्छौं । दुनियाँसँगको कनेक्टीभिटी रोडको, ऊर्जाको, इन्टरनेटको कसरी सञ्चालन गर्न सक्छौं ?

विकासका लागि नेपालको भूगोल असाधारण अनुकुल छ । उर्भरता, खानी, हिमताल, नदिनाला, तराई, पहाड सबै कुरा हाम्रो उत्पादनका अनुकुल हुन् । अव यसलाई समृद्धिका लागि कसरी प्रयोग गर्न सकिन्छ ? योजना बनाउनु पर्यो । अधिकार अधिकार मात्रै भनेर अव हुँदैन, उत्पादन र समृद्धि चाहियो ।

खाद्यान्न अव बाहिरबाट किन ल्याउनु पर्यो ? मासु हामीले किन बाहिरबाट ल्याउनु पर्यो ? हामीले काम गर्यौं भने आत्मनिर्भर बन्न सक्छौं । समृद्धिका लागि काम गर्नु पर्छ । खान मात्रै त केही नगरे पनि पुग्छ । मैले पोहोर प्रधानमन्त्री हुँदा भनेको थिएँ । खान मात्रै त केही गर्नु पर्दैन, सरकारले सबैलाई पाल्छ ।

म त्यो घोषणा गर्ने तयारमिा थिएँ तर, भ्याइएन । खान मात्रै हो भने त सरकारले ख्वाइदिन्छ नागरिकलाई । तर, हामीलाई खान पाएर मात्रै पुग्दैन । प्रगति गर्नु छ । त्यो प्रगति कसरी गर्ने हामी छलफल गरौं । हामी हाम्रो पार्टीको घोषणा पत्र बनाउन खोजिरहेका छैनौं ।

देश बनाउनु त हाम्रो अभिभारा हो । त्यसका लागि हामीले गरिवी निवारण गरेर समृद्ध र आकर्षक देश बनाउनु छ त्यो त गर्नु पर्यो नि । कम्तिमा अवको २५ वर्ष भित्र हामी देशलाई कस्तो बनाउन सक्छौं अव कार्यक्रम बनाएर अघि बढ्नु पर्छ ।

Post Comment