बाबुरामले भने :-भारतको बिरोध गर्नेले मेरो पार्टी छोड्नुस्

बाबुरामले भने :-भारतको बिरोध गर्नेले मेरो पार्टी छोड्नुस्
राजनीति

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्ने नेता कार्यकर्तालाई पार्टी छोड्न सुझाव दिएका छन् ।

मंगलबारदेखि जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बाबुरामले आफूसँग फरक विचार राख्ने नेतातर्फ लक्षित गर्दै भारतको विरोध गर्नेहरुलाई पार्टी छाड्न सुझाव दिएका हुन् ।

बैठकमा नेता देव लिम्बूले फरक मत दर्ता गराएका थिए । तर, यसलाई बाबुरामले पार्टी अनुशासन विपरित भएको ठहर गरेका छन् ।

उनले देशमा अनुशासनहिनता छाएको भन्दै आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको बताए । फरक मत राख्ने लिम्बू पक्षलाई संकेत गर्दै उनले अनुशासनहिनहरुलाई छुट नदिइने चेतावनी समेत दिए । आफूविरुद्ध फरक मत आएपछि बाबुरामले भने– ‘मेरो विरोध गर्न हैसियत चाहिन्छ । हैसियत नै नभएकाहरुले मात्र मेरो विरोध गरिरहेका छन् ।’

लिम्बूको प्रस्तावतर्फ संकेत गर्दै उनले अगाडि भने– ‘कतैबाट परिचालित र मेरो विरोध गर्नकै लागि ल्याइएको प्रस्तावमा छलफल हुन सक्दैन । नयाँ शक्ति भत्काउनका लागि प्रायोजित फरक मत राख्न पाइँदैन । भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्नेहरुलाई पार्टी छाड्न ढोका खुला छ । गए हुन्छ ।’

लिम्बूले बाबुरामको नेतृत्वमा पार्टीले जातिवादी, साम्प्रदायिक र भारतपरस्त विचार बोकेको भन्दै प्रस्ताव दर्ता गरेका थिए । वैठकको अघिल्लो दिन सोमबार बाबुरामले देव लिम्बू समर्थक निर्मल भट्टराई, चन्द्रदेव ओझा, मोहन बम, हरिराम रिमाल लगायतलाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसैगरी जिल्लाजिल्लामा लिम्बू समर्थक कार्यकर्तालाई बाबुराम पक्षले स्पष्टिकरण सोध्ने, पार्टीबाट निष्काशित गर्ने काम गरिरहेको छ ।

Post Comment