पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालले संविधान संशोधन र तराईमा इकाई बढाउने भ्रम छरेर सरकारले निर्वाचन रोके एमाले देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
बर्दिबासको गौरीडाँडामा बुधबार एमालेको २ नं प्रदेश अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले मधेसी मोर्चाले उठाएका माग नै गलत रहेको जिकिर गरे । सीमांकन हेरफेरको माग संविधानविपरीत र राष्ट्रको हितमा समेत नरहेको उनको दाबी थियो ।
निर्वाचनको मुखमा कुनै पनि हालतमा संविधान संशोधन हुन नदिन एमाले अडिग रहेको उनको भनाइ छ ।
‘संविधान कार्यान्वयनका बेला कांग्रेस र माओवादी केन्द्रले संशोधनको बेसुर धुन अलापेर मुलुकलाई भ्रमित पार्न खोजेको प्रति एमाले सचेत छ,’ खनालले भने ।
पूर्वप्रधानमन्त्री एवं पार्टीका अर्का नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेलसमेतको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा २ नं क्षेत्रअन्र्तगत ८ जिल्लाका पार्टी अध्यक्षले प्रतिवेदन पेस गरेको जनाइएको छ । स्रोतका अनुसार बन्दसत्रमा एक मधेस एक प्रदेशको नारा सफल हुन नदिने, देश र जनताका लागि एमालेलाई देशव्यापी रूपमा परिचालन गर्ने विषयमा छलफल भएको थियो ।
प्रमुख पदमा अंगीकृतलाई नभई वंशज नागरिकलाई मात्र ग्राह्यता दिनुपर्ने विषयमा बहस चलाइएको जनाइएको छ ।