सत्तारुढ नेपाली कांग्रेसको राजधानीमा सम्पन्न तीनदिने केन्द्रीय कार्यसमिति बैठकमा नेपाल–भारत सीमानामा काँडेतार लगाउनुपर्ने प्रस्ताव आएको छ ।
बैठकमा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सीमा व्यबस्थापनका लागि भारतसँगको सीमामा काँडे तारबार लगाउन प्रस्ताव गरेका हुन् ।
कांग्रेसका अधिकांश नेताहरु भारतनिकट रहेको र भारतविरुद्ध एकशब्द पनि बोल्न नसकिरहेका बेला नेता गुरुङले सीमामा काँडेतार लगाउनुपर्छ भन्ने आँट गरेका हुन् ।
काँडेतार लगाउँदा छिमेकी रिसाउछ भन्ने सोच त्याग्नुपर्ने सुझाव दिँदै उनले भने– ‘खुल्ला सीमाना व्यबस्थापन गर्नुपर्छ र त्यसका लागि काँडेतार लगाउनु पर्छ । काँडे तार लगाउदा छिमेकीबाट टाढा भइन्छ भन्ने सोच त्याग्नुपर्छ ।’
खुल्ला सीमानाका नाममा भारतीय पक्षबाट नेपालीमाथि चरम अत्याचार भइरहेको भन्दै उनले अबपनि सहेर बस्न नहुने बताए ।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपाली मारिदा ठूलो दलको हैसियतले पार्टीले सशक्त रुपमा आवाज उठाउनुपर्ने भन्दै उनले अगाडि भने– ‘विसं २०१६ सालमा चिनियाँ सेनावाट नेपालको प्रहरी हवल्दार मारिदा बीपी कोइरालाले चीनलले माफी माग्नुपर्छ भन्ने अडान लिनुभएको थियो, पछि चीनले माफी माग्यो र क्षतिपुर्ती दियो । भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमबारे काग्रेस बोल्नै पर्छ, व्यबहारमा राष्ट्रवादी बोल्नु पर्छ ।’
खुला सीमानामा कांडेतारबार लगाउनुपर्छ भन्ने प्रस्तावको विरोध गर्नेहरु नेपाली जनताको दुःखभन्दा पनि प्रभुलाई खुशी पार्नका लागि लागिरहेको उनको आरोप छ । उनले भनेका छन्– ‘सयौं सिमापिलर भारतीयले गुमनाम गरेर सिमा मिचेको नेताहरु सबैलाई थाहा भएपनि कांडेतार लगाउन हुन्न रे/कुटनैतिक नियोगको ‘भाते’ बन्ने प्रतिस्पर्धा ?’
नेता गुरुङले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा राखेको प्रस्तावलाई धेरैले मन पराएका छन् । सामाजिक सञ्जालमा उनलाई अगाडि बढ्न र अभियानै चलाउन सुझाव आएका छन् । आर्थिक सहयोग र श्रमदान गर्नेसम्मका प्रतिबद्धताहरु पनि व्यक्त भएका छन् ।