कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख राजनीतिक सहयोगीका रुपमा परिचित विमलेन्द्र निधिका विवादास्पद गतिविधि र क्रियाकलापले उनी देउवा क्याम्पबाट गलहत्याइने अवस्थामा पुगेका छन् ।
विशेष गरेर उपप्रधान एवम् गृहमन्त्री बनेपछि नेपाली कांग्रेस र नेता कार्यकर्ताको हकहितभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा क्रियाशील भएका कारण देउवा क्याम्पले निधिलाई फिटिक्कै मन पराउन छाडेको हो । सरकारमा मन्त्री भएर गएदेखि निधिले देउवा र कांग्रेसका नेताहरूले आग्रह गर्ने गरेको भन्दा ठीक उल्टा निर्णयहरू गरेर ठूलो आलोचना खेप्नु परेको थियो ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा सभापति देउवाको रुची विपरित विवादस्पद अभिव्यक्ति दिएपछि निधिमाथि ठूलो अविश्वास बढेको थियो । निधिका कारण देउवाले महानिरीक्षक नियुक्ति प्रकरणमा प्रेस विज्ञप्ति जारी गरेर सफाइ दिनु परेको थियो ।
निधिकै कारण देउवालाई भारत र चीनसँगको सम्बन्धमा अविश्वास पैदा भएको स्रोत बताउँछ । कांग्रेसका एक नेता भन्छन्, ‘विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई भित्रभित्रै विवादमा तानेर व्यक्तिगत रुपमा राजनीतिक स्वार्थ लिन चाहन्छन् । देउवाले यति ठूलो विश्वास गरेपछि निधिले बेलाबेलामा धोका दिने गरेका छन् । यसको परिणाम निधिले भोग्नु पर्छ ।’
गृहमन्त्री निधिकै कारण कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का देउवासँग टाढिन पुगेका छन् । खड्का टाढिएपछि देउवाले उनलाई फकाउन दुईसाता अगाडि ललितपुरको सानेपास्थित खड्काको निवासमा पुगेर फकाउने प्रयास गरेका थिए । खड्का निवासमा देउवा पुगेको चालपाएपछि गृहमन्त्री निधि झन् चिढिएको स्रोतको भनाइ छ ।
प्रभावशाली नेता खड्कालाई पूर्व सहमतिअनुसार उपसभापति दिन सक्दैन भनेर सो पद निधिका लागि देउवाले राखिदिएका छन् । बरु खड्काले देउवालाई तपाईलाई असजिलो छ भने आफूलाई सहज हुने गरी निर्णय गर्नुस् भनेर छाडिदिएका छन् ।
तैपनि निधिले देउवालाई बेलाबेला ठूलो धोका दिँदै आएका छन् । देउवा प्रधानमन्त्री बन्ने बेला अहिले आएर निधिले उपप्रधानमन्त्रीको वरीयताको कुरा उठाएर ठूलो असहयोग गरिरहेका छन् । यसबाट पनि देउवा निधिसँग चिडिएका छन् । देउवा निधिका यस्तै खालका अराजनीतिक क्रियाकलापबाट आजित भएको नेताहरू बताउँछन् । निधिले नै देउवालाई राम्रा नेताहरूसँग सम्पर्कमा जान नदिएको आरोप पनि छ ।
देउवालाई साइजमा राख्ने भन्दै निधिले कृष्णप्रसाद सिटौलालाई नजिक बनाउन खोजेको स्रोतको भनाइ छ । गगन थापालाई लिएर अलग समूह खडा गरेका सिटौलाले पनि निधिलाई खासै मतलव नगरेको स्रोतको भनाइ छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र प्रभावशाली नेता डा.शेखर कोइराला समूहले पनि निधिलाई पटक्कै मन पराउँदैन । पहिलादेखि नै निधिको एकलकाटे राजनीतिलाई कांग्रेसभित्र धेरै मन पराउँदैनन् । देउवाको संरक्षण पाएर यति ठूलो राजनीतिक हैसियत बनाएका निधिले देउवाको साथ पाएनन् भने गृह जिल्ला धनुषामा पूर्व राष्ट्रपति डा.रामवरण यादवको समूहले पत्तासाफ गरिदिने एक केन्द्रीय सदस्यले बताए ।
प्रहरी प्रशासनमा कांग्रेसका नेता तथा कार्यकर्ताको भन्दा पनि आर्थिक लेनदेनलाई ध्यानमा राखेर कामहरू गर्ने गरेको निधिलाई कांग्रेसी नेताहरूको ठूलो आरोप छ । म्यादी प्रहरी भर्नाका बेला पनि निधिले कांग्रेसी नेता तथा कार्यकर्ताले सिफारिस गरेकाहरूलाई भर्ना गर्न कुनै पनि चासो नदिएको आरोप लागेको छ । म्यादी प्रहरीमा कांग्रेसका भन्दा पनि एमाले, माओवादी र अन्य दलका कार्यकर्ताहरू धेरै भर्ना भएको बताइन्छ ।