नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मन्त्रिपरिषद्को वरियता मिलाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश चलाउन नसक्ने बताउनुभयो ।
वरिष्ठता मिलाउन नसकेका कारण करिब एक महिनादेखि मन्त्रिपरिषद बैठक बस्न नसक्नु यो भन्दा लज्जास्पद कुरा केही नहुने उहाँले बताउनुभयो । तीन उपप्रधानमन्त्री मध्ये कुन वरियतामा दोस्रो हो भन्न नसक्ने प्रधानमन्त्रीको हुतिहारापनले देशको बइज्जती भएको उहाँको भनाई छ ।
प्रधानमन्त्री बाहिर जाँदा विवादका कारण कार्यवाहक नदिएरै सरकार प्रमुख विदेश गएको पहिलो घटना भएको बताउँदै नेता रावलले यस्ता साना मसिना कुरा मिलाउन नसक्ने नेताले ठूलो कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो । मन्त्रिपरिषद्ले गर्ने कतिपय निर्णयहरु अन्योलमा परेकाले यो प्रति सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने रावलको भनाई छ ।
चुनावी सभालाई सम्बोधन गर्न कैलालीको बौनिया पुग्नुभएका पूर्व गृहमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष रावलले शनिवार बिहान बैनियामा प्रेस चौतारी कैलाली शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनप्रति जनताको आकर्षण बढ्दै गएकोले निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।
‘कुनै पनि बाहानामा निर्वाचन रोक्नु हुँदैन सवैतिर जनताको चुनावप्रतिको लहर देखिएको छ,’ उहाँले भन्नुभयो– ‘२० वर्षदेखि स्थानीय तहको निर्वाचन नभएकाले उम्मेदवारका आकाँक्षीहरु धेरै रहेकाले पनि निर्वाचन प्रति जनताको चाहाना बढी रहेको पुष्टि हुन्छ ।’ लोकतन्त्रमा निर्वाचन भनेको अनिवार्य हो तर लोकतन्त्र मान्ने दलले चुनावमा भाग लिँदैन भने उसको लोकतन्त्रप्रतिको विश्वासमा शंका उत्पन्न हुने उहाँले बताउनुभयो ।
सोही अवसरमा बोल्दै एमालेले स्थानीय तहको निर्वाचनमा राष्ट्रियताको मुद्धाका साथै स्थानीय विकास निर्माणका कुरालाई पनि जोडदारका रुपमा उठाउने उहाँले जानकारी दिनुभयो ।