नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले दुई तिहाई तहमा जित हाँसिल गर्ने दाबी गरेका छन् । आज उर्लाबारीमा चुनाव केन्द्रीत प्रचार–प्रसार कमिटी गठन कार्यक्रममा बोल्दै उनले आफ्नो हार हुने डरले माओबादी र काँग्रेस निर्वाचन सार्ने खेललमा लागेको आरोप लगाए ।
नेता पण्डितले निर्वाचन सार्न खोज्ने सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको खेललाई एमालले विफल पार्ने बताए । जनताको अभिमतबाट नै एमालेसँग निहु खोज्नेहरुलाई परास्त गर्ने उद्घोष समेत उनले गरे । अबको स्थानीय तहमा धेरै अधिकार हुने बताउँदै उनले उम्मेद्वार छनोटमा विशेष ध्यान पुर्याउन आग्रह समेत गरे ।
त्यस्तै कार्यक्रममा नेकपा (एमाले)की केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, बैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल, जिल्ला सदस्य एवम् मोर्चा विभाग प्रमुख रुपेश खतिवडा लगायतले स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।