संसद बिघटनको माग सहित नयाँ शक्तिले आन्दोलन गर्ने

संसद बिघटनको माग सहित नयाँ शक्तिले आन्दोलन गर्ने
राजनीति

दलीय चुनाव चिन्हको माग गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित ६८ दलले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गरेको छ । २ गते ६८ दलीय मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले नै रिले अनसन सुरु गर्नेछन् ।
साथै आवश्यकता अनुसार प्रधानमन्त्री निवास, संसद भवन लगायत घेराउ गर्ने मोर्चाले बताएको छ ।
६८ दलीय मोर्चाले निर्वाचन शिक्षा लगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने पनि निर्णय छ । भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाई मात्र चुनाव चिन्ह दिने गरी ऐन ल्याइएको दाबी गरे ।
उनले भने, ‘केही चतुरेहरुले घुसाएर लगे । कतिसम्म भने राजपत्रमा प्रकाशित नै गरिएको छैन ।’
उनले आफूहरुको आन्दोलनले लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्ने दाबीसमेत गरे । दलीय चुनाव चिन्ह नदिने सरकारको निर्णयमा निर्वाचन गर्नेभन्दा कुर्सीको भागबण्डा गरेर बाँडीचुँडी खाने नियत लुकेको दाबी गरे ।

Post Comment