तराई मधेस लोकतान्त्रिक पार्टीका तीन जना सहअध्यक्षहरूले छ मधेस केन्द्रित राजनीतिक दलहरूबीच भएको पार्टी एकीकरणप्रति असन्तुष्टि जनाएका छन् ।
महन्थ ठाकुरपछि लस्करै वरीयतामा रहेका सहअध्यक्षहरू हृदय त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला र बृर्षेशचन्द्र लालले असन्तुष्टि जनाएका हुन् । बिहीबार पार्टी एकीकरण घोषणा कार्यक्रममा उपस्थित भएका तीन जना सहअध्यक्षहरू मञ्चमा उक्लिएनन् ।
कार्यक्रमका उद्घोषक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पटक–पटक यी तीन जना नेताहरूको नाम बोलाए । तीनै जनाले आ–आफ्नो सिटमा उठेर आसन ग्रहण गरे तर, महन्थ ठाकुरसहितका शीर्ष नेताहरू बसेको मञ्चको सिटमा गएनन् ।
तमलोपा र अन्य दलका पदाधिकारीहरू ज–जसको नाम लिएर बोलाइयो सबै मञ्चमा गएर बसेका थिए ।
हृदय त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला र बृर्षेशचन्द्र लालले आफूहरूको मौन बिरोध जनाए पनि महामन्त्री जितेन्द्र सोनलसहितका अन्य पदाधिकारीहरू सबै मञ्चमा उक्लिएर बसेका थिए । यी तीन जना सहअध्यक्षहरूले अध्यक्ष ठाकुरलाई असहयोग गरेको भनेर उपस्थित तमलोपाका कार्यकर्ताहरूले कुरा काटेका थिए ।
स्रोतका अनुसार हृदयश त्रिपाठीले राजेन्द्र महतोलाई नेता मान्ने विषयमा असन्तुष्टि जनाएका छन् । सोही कारण हृदयश त्रिपाठीले एकीकरणलाई रुचाएका छैनन् ।
शर्बेन्द्रनाथ शुक्ला र बृर्षेशचन्द्र लालले मधेस केन्द्रित दलहरूको एकीकरण प्रक्रियामा धेरै गृहकार्य नगरेको भनेर असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।
छ वटा मधेस केन्द्रित दलहरू मिलेर बिहीबार राष्ट्रिय जनता पार्टी गठन भएको थियो । नयाँ पार्टीका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला महन्थ ठाकुरकै दलका तीन ठूला नेताहरूको असन्तुष्टिले खैलाबैला मच्चाइदिएको छ । यसको असर केही दिनभित्र देख्न सकिने एक नेताले बताए ।