नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् ।
एकताका लागि दुवै पार्टीले ‘पार्टी एकता संयोजन समिति’ को घोषणा गरेका छन् ।
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता गर्ने घोषणा गरेका हुन् । संयोजन समितिमा भट्टराई र यादवका साथै संघीय समाजवादी फोरम संसदीय दलका नेता अकोश राई छन् ।
दुई पार्टीबीच आन्दोलनमा कार्यगत एकता गर्दै यथाशीघ्र एकतालाई तार्किक निस्कर्षमा पु-याउने सहमति भएको छ ।
‘नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुवै पार्टीका तर्फबाटट वार्ता समिति गठन गरी विभिन्न चरणका बैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ ।’