प्रकाशमानको दाबी:- कांग्रेसमात्रै भरपर्दो र विश्वासिलो पार्टी

प्रकाशमानको दाबी:- कांग्रेसमात्रै भरपर्दो र विश्वासिलो पार्टी
राजनीति

पाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीहरुको विश्वास गर्न नहुने बताएका छन् । उनले कांग्रेसमात्रै भरपर्दो र विश्वासिलो पार्टी रहेको दाबी गरे ।

काठमाण्डुको चन्द्रागिरी नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘कम्युनिष्ट पार्टीहरूको विश्वास हुँदैन । उनीहरू बोली र व्यवहारमा फरक छन् । बोलेको कुरा कहिल्यै पूरा गर्दैनन् ।’
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर स्थानीय चुनाव लडेका बेला कांग्रेसकै नेताबाट सार्बजनिक यो भनाइलाई अर्थपूर्ण मानिएको छ ।
कांग्रेसका उम्मेदवारहरूको पक्षमा मत माग्न आयोजित सभालाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘नेपाली कांग्रेस खुला किताब जस्तो छ । कांग्रेसले कुनै पनि कुरा लुकेर गर्दैन । भरपर्दो पार्टी कांग्रेस हो । हरेक क्रान्ति र राजनीतिक परिवर्तन कांग्रेसले गरेको छ ।’
पहिलो संविधानसभामा कम्युनिष्ट पार्टीको बहुमत हुँदाहुँदै संविधान ल्याउन नसकेको तर, पार्टी सभापति सुशील कोइरालाको पालामा कांग्रेसको नेतृत्वमा संविधान जारी भएको नेता सिंहले दाबी गरे ।
‘पहिलो संविधान सभामा चार-चार जना विद्वान कम्युनिष्ट नेताहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । संविधान जारी गर्न सकेनन् । आखिर संविधानसभा विघठन गरे,’ नेता सिंहले भने, ‘दोस्रो संविधानसभामा जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए । सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भयो ।’
०४६ सालको जनआन्दोलनका बेला गणेशमान सिंहकै दबावमा कम्युनिष्ट पार्टीहरुलाई वाममोर्चा बनाउन लगाएर कांग्रेसको एजेण्डामा ल्याएको उनले बताए । माओवादीलाई कांग्रेसले नै शान्ति प्रक्रियामा ल्याएको उनले स्मरण पनि गरे ।
चन्द्रागिरि नगरपालिकामा कांग्रेसले घनश्याम गिरीलाई मेयरको उम्मेदवार बनाएको छ ।

Post Comment