उपेन्द्र यादवले भने: मोर्चाका नेताले घृणित काम गरे

उपेन्द्र यादवले भने: मोर्चाका नेताले घृणित काम गरे
राजनीति

फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवले बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन सफल बनाउनको लागि जनताहरुको उत्साहजनक सहभागिता रहेको बताए ।

शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जनतामा अहिले व्यापक उत्साह छाएको छ ।’ यद्धपी यादवले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन आफूले सहज नदेखेको जिकिर गरे ।

यादवले दोस्रो चरणको निर्वाचनलाई सहज र सरल बनाउनको लागि सरकारले ७ वटा कामहरु गर्नुपर्ने भन्दै सुझावहरु अघि सारेका छन् । उनले अघि सारेका सुझावहरुमा तराई-मधेशमा छुटेका मतदाताहरुको नाम रेजिष्ट्रेशन गर्नुपर्ने, निर्वाचनमा भाग लिने वातावरण बनाउनको लागि जेठ ४ गते वा यसकै आपसपासमा संविधान संशोधन प्रस्ताव पारित गराउनुपर्ने, मधेशमा आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहाई गर्नुपर्ने, मुद्दा फिर्ता गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा वृद्धि गर्नुपर्ने, चुनावपछिमात्रै बजेट ल्याउनुपर्ने र निर्वाचनजस्तो राजनीतिक झगडामा नेपाली सेनालाई उतारेर दुरुपयोग गर्न नहुने रहेको छ ।

यादवले सकेसम्म भोलि नै यी कामहरु मन्त्रिपरिषदबाट गराउनको लागि सरकारसँग आग्रह गरे । त्यस्तै यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिए ।

उनले भने,‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फुल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो ।’

विगतमा गठबन्धनको विरुद्धमा उफ्रिनेहरुले नै आज यस्तो घृणित काम गरेको आरोप लगाए । यादवले राजपाका नेता राजेन्द्र महतोप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले भने,‘एक दुई जना मान्छे बोलाएर आफूले आँफैलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो ।’

त्यस्तै उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग पार्टी एकता हुने तर अहिले हतारमा प्रक्रिया अघि नबढाइहाल्ने तर्क गरे । उनले भने,‘पार्टी एकीकरण भनेको गिट्टी, बालुवा मिसाएजस्तो होइन नि, विचार मिल्नुपर्यो, भावना मिल्नुपर्यो, आवश्यकता हुनुपर्यो नि ।’

Post Comment