राप्रपा पराजयको कारण : गाई रोज्नु परेकाले कन्तबिजोग भएको ठहर

राप्रपा पराजयको कारण : गाई रोज्नु परेकाले कन्तबिजोग भएको ठहर
राजनीति

। भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा करारी हार बेहोरेको राप्रपा फेरि विभाजनको संघारमा पुगेको छ । २०४७ सालमा एकै दिन दुईवटा पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता भएको राप्रपा २५ वर्षको यो अवधिमा कतिपटक फुट्यो ? र, कतिपटक एकीकरण भयो ? भन्ने हिसाब किताब गर्न कापी कलम नै लिएर बस्नुपर्ने अवस्था छ ।
२८३ पालिकाका लागि भएको निर्वाचनमा राप्रपाले एउटा पालिकामा मात्रै चुनाव जितेको छ । उत्तरी धादिङको हिमालपारिको उक्त गाउँपालिकामा उपाध्यक्ष बुद्धिमान तामाङले बुथ कब्जा गरेर आफ्नो पार्टीलाई जिताएका हुन् । उक्त गाउँपालिकामा ९५ प्रतिशत गैरहिन्दु छन् । यसैगरी, बाग्लुङ नगरपालिकामा एमाले र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर राप्रपाले उपमेयर पद हासिल गरेको छ । यसैगरी, नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा पनि राप्रपाले एक–एक वडाध्यक्ष पदमा चुनाव जितेको छ ।
तालमेलविना एक्लै निर्वाचन लडेको ठाउँमा राप्रपाका उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् । अधिकांश ठाउँमा राप्रपाका उम्मेदवारहरूको एक सय मत कटेको छैन । अध्यक्ष कमल थापाको गृहनगर हैटौंडा र उपाध्यक्ष विक्रम पाण्डेको गृहनगर भरतपुरमा पनि राप्रपाका उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् । काठमाडौं र ललितपुर महानगरपालिकामा भने एमालेसँग तालमेल गरेका कारण राप्रपाका उपमेयर उम्मेदवारहरूको भोट दोस्रो पोजिसनमा आउने सम्भावना देखिएको छ ।
सधैं हलो चिन्ह लिएर चुनाव लड्दै आएका उम्मेदवारहरूले सधैं हलो चिन्हमा भोट हाल्ने बानी परेका सर्वसाधारणले यसपटक गाई रोज्नु परेकाले कन्तबिजोग भएको ठहरमा वरिष्ठ नेता राणा पनि पुगेका छन् । विक्रम पाण्डे, दीपक बोहोरा, सुनिल थापालगायत गत संविधानसभामा प्रत्यक्षमा चुनाव जितेका र राम्रो जनाधार भएका नेताहरूलाई शनिबार साँझ आफ्नो निवास बोलाएर वरिष्ठ नेता राणाले छलफल गरेका थिए । छलफलका क्रममा सबैको निष्कर्ष थियो– ‘हलोको सट्टा गाई चुनाव चिन्ह लिनुपरेकाले यस्तो अवस्था आएको हो, अब दोस्रो चरणको निर्वाचन मुसलमानको संख्या उल्लेख्य रहेका पालिकामा हुँदैछ, गाई चिन्हमा भोट आउँदैन ।’
उक्त छलफलमा उपाध्यक्ष दिपक बोहोराले भनेका थिए– ‘भैरहवा नगरपालिकामा सागरप्रताप राणाले चुनाव जित्ने अवस्था हो, तर गाई चिन्हमा मुसलमानले भोट नहाल्ने भएकाले समस्या देखिएको छ, स्वतन्त्र चुनाव चिन्ह लिएर गयौं भने चुनाव जितिन्छ ।’ नेपालगन्ज उपमहानगरपालिकामा पनि गाई चिन्हकै कारण धवलशमशेर राणा हच्केको राप्रपा स्रोतले जनाएको छ । नेपालगन्जमा ३० प्रतिशत मुस्लिम मतदाता छन् । उनीहरूको भोट नपाउनेलाई चुनाव जित्न सजिलो छैन ।
निर्वाचनको मुखमा अध्यक्ष कमल थापाले पार्टीलाई सत्ताबाट बाहिर निकालेका कारण पनि निर्वाचनमा करारी हार भएको निष्कर्ष राप्रपाको राणा पक्षले निकालेको छ । सत्तामै बसेको भए र एमालेको सट्टा नेपाली कांग्रेससँग तालमेल गरेको भए यस्तो लज्जास्पद पराजय नहुने निष्कर्ष निकालिएको छ । तरुण साप्ताहिकमा खबर छ ।

Post Comment