संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन प्रस्ताव पारित नभएपनि निर्वाचनमा भाग लिने भएको छ ।
राजपा नेपालले संविधान संशोधन प्रस्ताव पारित नभए कुनैपनि हालतमा निर्वाचनमा भाग नलिने जनाईरहेको बेला उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल भने चुनावमा जसरीपनि भाग लिने तयारीमा जुटेको छ। स्रोतका अनुसार अध्यक्ष यादवले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि व्यापक तयारी गरिसकेकोले अब कुनैपनि हालतमा निर्वाचनबाट तलमाथि नहुने बताउन थालेका छन् ।
हिजो बिहीबारमात्रै पनि निर्वाचनमा कसरी जाने ? भन्नेबारे बसेको यादव, महन्थ ठाकुर र विजयकुमार गच्छदारवीचको छलफलमा गम्भिर कुराकानी भएको थियो । स्रोतका अनुसार उपेन्द्रले आफ्नो पार्टी निर्वाचनको तयारीमा होमिईसकेकोले अब कुनैपनि हालतमा त्यसबाट ब्याक हुन नसक्ने धारणा राखेका थिए । उनले सकेसम्म चुनाव अघि नै संशोधन गरे अति उत्तम हुने, यदि संभव भएन भने पनि निर्वाचनबाट विचलित नहुने धारणा राखेका थिए ।
तर राजपाले भने निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने अडान लिएको छ । निर्वाचन अघि नै संशोधन पारित गरेरमात्रै नहुने समेत राजपाले माँग राखेको छ । हालै सरकारले बढाएको स्थानीय तहको संख्यामा पनि यही जेठ ३१ गते नै निर्वाचन गर्नुपर्ने अडान लिएको छ । उता निर्वाचन आयोगले सरकारले हालै बढाएको स्थानीय तहको संख्यामा तोकिएकै मितिमा निर्वाचन गर्न नसकिने जनाईसकेको छ ।
चुनावमा तीन दल राजपा नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपालवीच तालमेल गरेर जानेबारेमा समेत कुराकानी भैरहेको छ। तीनै वटै पार्टीका शीर्ष नेताहरु चुनावी तालमेलबारे सकारात्मक रहेको स्रोतको दाबी छ ।