भरतपुर महानगरपालिकाको लफडा नसकिँदै ललितपुर महानगरपालिकाको पनि मतगणनाको विवाद व्युंतिएको छ । ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकार आफूलाई बदनियतपूर्वक हराइएको भन्दै अदालत गएका छन् । व्यञ्जनकारले उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका छन् ।
भरतपुर महानगरपालिकाको मत गणनाा रोकिएर निर्वाचनको अन्तिम मत परिणामका सन्दर्भमा देशैभरको ध्यान त्यसतर्फ गईरहँदा ललितपुर महानगरपालिकाको मत परिणामको विषयमा परेको उजुरीले अझ ध्यान तानेको छ । मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी बुधबार मुद्धा दायर गरेको व्यञ्जनकारले बताए ।
महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगक कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् । व्यञ्जनकारको उक्त मुद्धाको शुक्रबार पेशी तोकिएको छ ।
यसअघि व्यन्जनकारले पनि पुनः मतगणनाका लागि निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, आयोगले अस्वीकार गर्दै मतगणना गर्नु नपर्ने भनेको थियो । काँग्रेसबाट मेयरमा विजयी चिरीबाबु महर्जनले काम सुरु गरिसकेका छन् ।