अन्ततः प्रधानमन्त्रीको निर्वाचन आज नहुने भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको संसद भवन सिंहदरबारमा बसेको बैठकले आज (आइतबार) प्रधानमन्त्रीको निर्वाचन नगर्ने समझदारी गरेको हो । बैठकमा भोलिसम्ममा दलहरुबीच सहमतिको प्रयास जारी राख्ने र पर्सी (मंगलबार) प्रधानमन्त्रीको निर्वाचन गर्ने समझदारी बनेको सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए ।
सहमति खोज्ने प्रयास स्वरुप प्रमुख तीन दलका नेताहरुबीच आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसेको थियो । सभामुख घर्तीको पहलमा बसेको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालबीच संसदको गत्यावरोध अन्त्य र प्रधानमन्त्री निर्वाचनको विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिको पत्र संसद्मा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएको भन्दै एमालेले कुनै हालतमा संसद् चल्न नदिइने अडान लिएको थियो ।
प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र विधिसम्मत ढङ्गबाट हुनुपर्ने भएकाले राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने एमालेको तर्क थियो । ‘नेकपा एमाले पनि प्रधानमन्त्रीको चयन प्रक्रियामा भाग लिन चाहन्छ तर विधि र प्रक्रियालाई अरू दलले मान्नुपर्यो ।’- बैठकमा एमालेका नेताहरुले भनेका थिए ।
एमालेको अडानपछि प्रधानमन्त्रीको निर्वाचन मंगलबारसम्मलाई सारिएको छ । यसअघि आइतबार बिहान ११ बजे बोलाइएको बैठक एमालेले अबरुद्ध पारेपछि तीन बजेका लागि सारिएको थियो ।