प्रमुख,उपप्रमुख र वडाअध्यक्ष जितेकाहरुले एमाले पार्टीबाट राजीनामा दिनुपर्ने

प्रमुख,उपप्रमुख र वडाअध्यक्ष जितेकाहरुले एमाले पार्टीबाट राजीनामा दिनुपर्ने
राजनीति

नेकपा एमालेले स्थानीय तहका प्रमुख उपप्रमुख र वडाअध्यक्ष जस्ता कार्यकारी पदमा जितेकाहरुले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने नीति ल्याउने भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले नवनिर्वा्चित जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपरे तयार रहन निर्देशन दिएका छन् ।
प्रदेश नम्बर ३ बाट निर्वा्चित महानगर, उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण दिन सोमवार प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एक व्यक्ति एक पदको संकेत गरेका हुन् ।
महासचिव पोखरेलले भने, ‘जो–जो कमरेडहरु पार्टीको पनि कार्यकारी पदमा हुनुहुन्छ र अहिले स्थानीय तहको कार्यकारी पदमा निर्वा्चित हुनुभएको छ, तपाईहरुले पार्टीको जिम्मेवारी अर्को कमरेडलाई सुम्पिएर जनताको काममा मात्र केन्द्रित हुनुपर्ने अवस्था आउन सक्छ । पार्टीले निर्णय गरिसकेको छैन तर, तयार रहनुस् ।’
पार्टी र जनप्रतिनिधिको काम दुवैतिर समय दिन नसकिने र पार्टीको प्रमुख नै नगर वा गाउँपालिका प्रमुख हुँदा उसलाई नियन्त्रण र सन्तुलन गर्ने निकाय पनि नहुने भएकाले जनप्रतिनिधिलाई पार्टीको मुख्य पदबाट बिदा गर्ने एमाले नेताहरुले बताए ।
एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र गाउँ तथा नगर कमिटीका धेरै पदाधिकारीहरु स्थानीय तहको प्रमुख उपप्रमुखमा निर्वा्चित भएका छन् । अब उनीहरुलाई जनप्रतिनिधिको भूमिकामै बढि केन्द्रित गर्न पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने गरी छलफल भइरहेको पोखरेलले बताए ।

Post Comment