नयाँ शक्ति पाटीका संयोजक डा. बाबुराम भट्टराईले नेपालका ठूला दलहरू क्यान्सरले ग्रसित भएको आरोप लगाएका छन् । नयाँ शक्ति तथा संघीय समाजवादी फोरमले सञ्चालन गरेको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले नोपाली कांग्रेस, माओवादी केन्द्र तथा एमाले पुरानो भएर क्यान्सरको धमिरो लागेको बताए ।
‘पुरानो चिन्तनवादी सोचले अगाडि बढेका यी तीन दलमा राजनीतिक क्यान्सरले छुन थालेको छ,’ उनले भने, ‘भ्यागुतो, बिच्छी र सर्पको जस्तो व्यवहार देखाएर कुर्सीको लडाइँमा एमाले, कांग्रेस र माओवादी लागेका छन् ।’ ठूला दलमा भित्रभित्रै धमिरो लागेको भन्दै सबैले सोच्ने वेलासमेत आएको उनले बताए ।
डा. भट्टराईले संविधान संशोधन अपरिहार्य भएको बताए । ‘केही समय मधेसी दलको कुरा गर्दै पहिला नै संविधान आधा गिलास पानी भएकोजस्तो भन्दै संविधानसभाबाट बाहिर निस्केको हो,’ उनले भने, ‘तपार्इंहरू चुनावअघि नै संविधान संशोधन गर्न सक्नुहुन्छ भने तपाईंहरूलाईं बधाई छ, सक्नुभयो भने चुनावपछाडि हाम्रा मुद्दालाई अझ बलियो बनाउन सकिनेछ ।’
डा. भट्टराईले माओवादीले १० वर्षे जनयुद्धबाट आएको परिणाम स्वीकार गर्न नस्क्दा देशले संकट भोग्नुपरेको बताए । एमालेको विरोधमा कम समय दिएका उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु रहस्यमय हुँदाहुँदा हुँदै पनि एमाले चुप लागेर बसेको देख्दा अचम्म लागेको बताएका छन् ।