माओवादी केन्द्रका हेडक्वार्टर सदस्य एवं प्रदेश नम्बर–७ का इन्चार्ज लेखराज भट्टले आफूले सिफारिस गरेका व्यक्ति मन्त्री नभए पार्टी नै छाड्ने चेतावनी नेतृत्वलाई दिएका छन् ।
भट्टले बाजुराका समानुपातिक सांसद कर्णबहादुर विकलाई काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री नबनाए पार्टी छाड्ने चेतावनी दिएका हुन् । उनले अध्यक्ष प्रचण्डसहित केही वरिष्ठ नेतालाई भेटेरै विक मन्त्री नभए पार्टीमा नबस्ने बताएका हुन् । ‘कर्णबहादुर पार्टीका पुराना र दुर्गम पहाडका नेता हुन्’, भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि यो पटक उहाँलाई मन्त्री नबनाउने हो भने म पार्टीमा बस्दिन ।’
विक सुदूरपश्चिमको पुराना कार्यकर्ता, दलित समुदायको र विकट पहाडी जिल्लाबाट प्रतिनिधित्व गरेका कारण उनलाई मन्त्री बनाउनैपर्ने तर्क भट्टको छ । तर, माओवादी केन्द्र सुदूरपश्चिमका बहुमत नेता कार्यकर्ता विकको विपक्षमा छन् । नेता भट्टले यसअघि पनि कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लाहरुमा मिलाएर प्रदेश नबनाए पार्टी छाड्ने र क्षेत्रीय पार्टी गठन गर्ने चेतावनी दिँदै आएका थिए ।