नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीन ठूला दलले देशलाई बर्बाद बनाएको आरोप लगाएका छन् ।
संयोजक भट्टराईले तीन ठूला दलले एक वर्ष भित्र खर्ब भन्दा बढि भ्रष्टाचार गरेको दावी समेत गरे ।
पार्टीको प्रथम वार्षिक उत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन ठूला दलले सिन्डीकेट बनाएर बाँडीचुडी खाने नीति लिएको आरोप पनि लगाए ।
उनले सरकारले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण चिनियाँ कम्पनीलाई दिएर ७ अर्ब कमिसन लिएको पनि आरोप लगाए ।
संयोजक भट्टराईले ठूला दल अझै नसच्चिएको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे ।
संयोजक भट्टराईले आफनो पार्टी मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित भएको दावी समेत गरे ।
उनले ‘हाम्रै पालामा आर्थिक समृद्धि सम्भव छ’ भन्ने पार्टीको नारा राष्ट्र निर्माणका लागि ऐतिहासिक भएको दावी समेत गरे ।
संयोजक भट्टराईले स्थानीय तह पहिलो चरणको निर्वाचनको परिणामबाट निराश नहुन पनि पार्टी नेता÷कार्यकर्तालाई आग्रह गरे ।