निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रकाविरुद्ध सजग रहन एमालेको आह्वान

निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रकाविरुद्ध सजग रहन एमालेको आह्वान
राजनीति

एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड दिंदै कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रकाविरुद्ध सजग रहन आम जनतालाई आह्वान गरेको छ । त्यस्तै एमालेले निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्नेकुराप्रति एमालेले सहमति जनाउन नसक्ने जनाएको छ ।

बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट देशका विभिन्न भागमा एमाले, कांगे्रस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुविरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्र्सना गरेको छ । एमालेले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षा कायम गर्न सरकारसमक्ष माग गरेको छ ।

बैठकले सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्दै र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान पनि गरेको छ ।

बैठकले असार १४ मा हुने निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउमा खटाउने निर्णय गरेको पार्टी प्रवक्ता योगेश भटराईले जनाएका छन् ।

Post Comment