नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन् ।
यहाँ मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताए । दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताए ।
एक फरक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताए । निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने उनले बताए ।
सर्वोच्चको निर्णय आइसकेपछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने भन्दै उनले निर्वाचनमा जुट्न सबैलाई आग्रह समेत गरे ।