‘उमेरमा एमालेलाई माया गरे बुढेशकाल एमालेले माया गर्छ ’:- एमाले अध्यक्ष ओली

‘उमेरमा एमालेलाई माया गरे बुढेशकाल एमालेले माया गर्छ ’:- एमाले अध्यक्ष ओली
राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ ।

आफूले रेलको कुरा गर्दा कागजका रेल बनाएर खिसी गर्ने कांग्रेसले नै घोषणापत्रमा रेल्वे विकास गर्ने बिषय उठान गरेकोमा मजा लागेको बताउँदै उहाँले भन्नुभयो, ‘एमाले अघिअघि हिँड्छ, अरु पछिपछि हिँड्छन् ।’

झापाको अर्जुनधारा नगरपालिकाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह नै संसारभर जतिवेला पनि भेटिने भएकाले पनि यसको विजय निश्चित भएको बताउनुभयो । ‘हाम्रो विचार, आदर्श र संस्कृतिसँग मेल खाने चुनाव चिन्ह सूर्य भएका कारण पनि सबैले मतदान गर्न सजिलो हुन्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सबैले चिनेको पार्टी हो ।’

‘०४७ सालतिर कम्युनिष्टले बूढाबूढीलाई मार्छ भन्ने आरोप थियो । तर, एमाले सत्तामा गएपछि बूढाबूढीलाई भत्ता दिन थालेर यो भ्रम चिरेको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘उमेरमा एमालेलाई माया गरे बुढेशकाल एमालेले माया गर्छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रका लागि अरु पार्टीभन्दा एमाले अब्बल रहेको उल्लेख गर्दै भन्नुभयो– ‘एमालेभित्र लोकतन्त्रका लागि जेल बस्ने दर्जनौँ नेताहरु छन् । तर, काग्रेसले लोकतन्त्रका लागि लड्ने पार्टी आफू मात्र भएको भ्रम दिएको छ ।’

जनतालाई साथ लिएर विकास गर्ने पार्टी एमाले भएका कारण यो पार्टी जनमैत्री भएको अध्यक्ष ओलीले बताउनुभयो । सामाजिक सद्भाव र विकास गर्ने पार्टी एमाले भएको बताउँदै उहाँले एमाले पदका लागि जुनसुकै काम गर्ने पार्टी नभएको बताउनुभयो ।

एमालेले पहिलो चरणको निर्वाचनमा ४० प्रतिशत महिलालाई निर्वाचित गराएको बताउँदै उहाँले आफ्नो पार्टीले सर्वोच्च पदमा महिलालाई पुर्याएर राष्ट्रपति बनाएको उदाहरण दिनुभयो । न्यायालयको प्रमुखमा पनि महिलालाई नियुक्ति गर्न एमालेको विशेष योगदान रहेको उहाँले स्मरण गराउनुभयो । तर, अरु पार्टीले न्यायालय प्रमुख रहेकी महिलालाई महाअभियोग प्रस्ताव दर्ता गरेर अपमान गरेको पनि उहाँले बताउनुभयो ।

आफूले रेलको कुरा गर्दा कागजका रेल बनाएर खिसी गर्ने कांग्रेसले नै घोषणापत्रमा रेल्वे विकास गर्ने बिषय उठान गरेकोमा मजा लागेको बताउँदै उहाँले भन्नुभयो, ‘एमाले अघिअघि हिँड्छ, अरु पछिपछि हिँड्छन् ।’

‘मंसिरसम्म प्रतिनिधिसभाको चुनाव हुँदा एमालेबाहेक अरुले जित्न सक्दैन’, अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचन एमालेलाई अप्ठयारो भएको ठाउँमा गरेर विपक्षीले चालवाजी गरेका थिए । तर, एमालेले ४० प्रतिशत भन्दा बढी लोकप्रिय मत ल्यायो । दोस्रो चरणको निर्वाचनमा पनि एमाले धेरै अग्लो हुने छ ।’

Post Comment