राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिने घोषणा गरेको छ । राजपाका नेता ह्रदयेश त्रिपाठिले बेलाटारीमा शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकार मधेशमा सेना परिचालन गरेर द्वन्द्वमा गएकाले राजपाले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।
उनले कहिलेसम्म सर्मथन फिर्ता हुन्छ भन्ने प्रश्नको जवाफमा प्रकृया शुरु भैसकेकाले केहि दिन लाग्ने बताए । उनले सर्मथन फिर्ताका केहि प्रकृया पुरा गर्नपर्ने भएकाले समय लागेको बताउँदै चाडो भन्दा चाडो सरकारलाई घुडा टेकाएर ढाल्ने र एक्ल्याउने नीति आफुहरुको रहेको स्पष्ट पारे ।
सरकारलाई दिएको सर्मथन दोस्रो तहको स्थानीय निर्वाचन अघि फिर्ता लिनुहुन्छ वा पछि भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ नदिइकन चाडो भन्दा चाडो सरकारवाट फिर्ता लिने प्रकृया शुरु भैसकेको बताए । प्रधानमन्त्री निर्वाचनको बेला राजपाले शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
सुरक्षाको नाममा सेना परिचालन संसारमा कहिकतै नगरिने काम यो सरकारले गरेको आरोपलगाउदै नेता त्रिपाठीले सेना परिचालनको बिषयलाई बिदेशीले समेत चनाखो भएर यहाँको गतिबिधि नियालिरहेको उनले दावी गरे ।
निर्वाचन सफल बनाउने बहानामा मधेशमा सेना परिचालन गरिएको आरोप लगाउदै उनले शान्तिपूर्ण देशमा सेना परिचालन गरिएको घटनालाई अन्तराष्ट्रिय जगतले नजिकबाट नियाली रहेको बताए । जनता दबाउन सेना परिचालन गरेर गरिने निर्वाचनलाई अन्तराष्ट्रिय समुदायले मान्यता नदिने उनले दावी गरे ।
तराईका जिल्लामा निर्वाचनको समयमा आफुहरुले शान्तिपूर्ण रुपमा जनतालाई मत नहाल्न अपिल गर्ने र प्रर्दशनमा उत्रिने बताए । ‘शान्तिपूर्णरुपमा बिरोधमा उत्रिन्छौं’ उनले भने । निर्वाचनका दिन पनि जनतालाई मत हाल्न नजान अपिल गर्ने र सबै गतिबिधि शान्तिपूर्ण गरिने उनले बताए ।