‘कांग्रेसले देशको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’:- कांग्रेस नेता थापा

‘कांग्रेसले देशको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’:- कांग्रेस नेता थापा
राजनीति

नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले मात्रै देशको आर्थिक समृद्धि गर्न सक्ने दाबी गर्नु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस देशमा शान्ति र स्थिरता कायम गर्ने पार्टी भएको बताउनुभयो। ‘नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको र संविधानको कार्यान्वयन पनि नेपाली कांग्रेसकै नेतृत्व आवश्यक छ’, थापाले भन्नुभयो, ‘हामी अहिले त्यो भूमिका निर्वाह गरिरहेका छौं।’ नेपाल विभिन्न भाषभाषी र जातजातीको देश भएकाले अनेकतामा एकता खोजेरअघि बढ्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको उहाँको भनाइ छ।
‘हामी पहाडमा गएर मधेसका कुरा गर्छौं मधेसमा गएर पहाडका कुरा गर्छौं। यसले देशको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’, थापाले भन्नुभयो, ‘कांग्रेस कुनै क्षेत्र बिशेषको विरोधी पार्टी होइन यो समग्र नेपाललाई एकसुत्रमा बाध्ने पार्टी हो।’ कांग्रेसका शत्रु गरिबी र बेरोजगारी भएकाले त्यसको अन्त्यका लागि नेपाली कांंग्रेसको जीत आवश्यक रहेको उहाँको भनाइ छ।
‘नेपाली कांग्रेस सबै जनता सुखी र खुशी भएको देख्न चाहन्छ। यसका लागि गरिबी र बेरोजगारी अन्त्य हुनु आवश्यक छ’, थापाले भन्नुभयो, ‘गरिबी र बेरोजगारीको अन्त्यका लागि कांग्रेसको जित आवश्यक छ।’

Post Comment