तरुण दल र वाइसीएलबीच झडपमा ५ घाईते

तरुण दल र वाइसीएलबीच झडपमा ५ घाईते
राजनीति

सिस्ने गाउँपालिका–५, मा नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलबीचको विवाद बढ्दै जाँदा ५ जना घाइते भएका छन् ।

सोमबार साँझ रुमालबारास्थित माओवादीको सम्पर्क कार्यालयमा भएको विवादमा हात हालहाल हुँदा तरुण दलका २ र वाइसीएलका ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ । इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीका अनुसार आपसी झडमा परी सिस्ने गाउँपालिका–५, टाकुरा निवासी तरुण दलका ३० वर्षीय रेशम विसी र ३५ वर्षीय टोपबहादुर शाही घाइते भएका छन् । झडपको क्रममा सोही ठाउँ निवासी वाइसीएलका २४ वर्षीय श्रीकुमार बुढाथोकी, २५ वर्षीय गोरबहादुर थापा र २६ वर्षीय केशव थापा घाइते भएका छन् । झडप भए पनि प्रहरीमा उजुरी नपरेको तथा कसैलाई पक्राउन पनि नगरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रेशम विसीलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने श्रीकुमार बुढाथोकीलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल रिफर गरिएको छ । विसीको हातमा र बुढाथोकीको टाउकामा चोट लागेको छ भने अन्य ३ जना सामान्य घाइते भएका छन् । पार्टीको सम्पर्क कार्यालयमा बसिरहेका युवाहरुमाथी तरुण दलले निहुँ खोजेर झगडा गरेको आरोप माओवादी केन्द्रको तर्फबाट ५ नम्वर वडाध्यक्षका उम्मेदवार शान्तेबहादुर विकले बताए । कांग्रेस सिस्ने गाउँपालिका सदस्य सरिता विसीले भने वाइसीएलले योजनाबद्ध तरिकाले तरुण दलमाथि आक्रमण गरेको बताइन् ।

http://bit.ly/2thsA7c

Post Comment