संविधान संशोधनमा एमालेले साथ नदिने

संविधान संशोधनमा एमालेले साथ नदिने
राजनीति

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गरे । संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उहाँले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राखे ।

सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षड्यन्त्र गरे पनि पहिलो र दोस्रो चरणको निर्वाचन सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएकोमा आम मतदातालाई धन्यवाद दिँदै उनले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन नसके अहिलेको संसद् नरहने र संविधान कार्यान्वयन पनि नहुने भएकाले तोकिएकै मितिमा सबै निर्वाचन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । महासचिव पोखरेलले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले पहिलोको भन्दा राम्रो मतपरिणाम ल्याउने दाबी गरे ।

 

Post Comment