जिल्लाका दुई नगरपालिका सहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्वीप गरेको छ ।
राप्रपा महामन्त्री तथा निर्वाचित सांसद सुनिल थापा र संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङको गृहजिल्लामा कांग्रेस, राप्रपा र संघीय समाजवादी फोरमको गठबन्धनलाई पराजित गर्दै एमालेले धनकुटालाई लालकिल्ला बनाएको हो ।
पहिलो चरणमा कुनै पनि जिल्लामा एकछत्र चुनाव जित्न नसकेको एमालेलाई दोस्रो चरणमा धनकुटाले क्लिन स्वीपको नतिजा दिएको छ । एमालेले सातै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित जिल्लाका ६० मध्ये दुई तिहाइ अर्थात ४२ वडा जितेको छ ।
मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेकपा एमालेका चिन्तन तामाङ ४ हजार ९ सय ३३ मत प्राप्त गरी धनकुटाको मेयर भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी शकुन्तला बस्नेतले ५ हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ३ सय ९२ मत प्राप्त गरिन् ।
पाख्रिबास नगरपालिकामा एमालेका विर्खबहादुर राईले ४ हजार ४ सय ३९ मत प्राप्त गरि मेयरमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा थापाले १ हजार ६ सय २८ मत मात्रै प्राप्त गरेकी छिन् ।
यसैगरी उपामेयरमा नेकपा एमालेकी देवकला पौडेल तिम्सिनाले ४ हजार ४२६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८ सय ३३ मत प्राप्त गरेका छन् ।
महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका पर्शुराम नेपालले ४ हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जिल्ला सभापति समेत रहेका अग्नी पौडेलले ३ हजार १७६ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकै मञ्जु अधिकारीले ४ हजार ५ सय २४ प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेससँग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले २ हजार १५६ मत प्राप्त गरे ।
छथर जोरपाटी गाउँपालिमामा एमालेका शेरबहादुर लिम्बूले ३ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओबादी केन्द्रका विष्णु पारघरीले १ हजार ५३१ मत प्राप्त गरे । उपाध्यक्षमा पनि एमालेकी भीमकला श्रेष्ठले ३ हजार २८९ मत प्राप्त गरी विजय भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीता लिम्बू खेवाले २ हजार ७३ मत प्राप्त गरिन् ।
खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा एमालेका उमनोज राईले ४ हजार ५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राईले ३ हजार ९ सय १६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटत प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई १ सय ५ सय ३४ मत प्राप्त गरिन् ।
चौबीसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपाध्यक्षमा पनि नेकपा एमालेकी यज्ञकुमारी रुचालले ३ हजार ६ सय ९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटत प्रतिद्वन्द्वी कांग्रेस संग तालमेल गरेकी संघीय समाजवादी फोरमका उपेन्द्र लावतीले २ हजार ६ सय ९९ मत प्राप्त गरिन् ।
धनकुटाको यो नतिजाले जिल्लामा एमाले बाहेक अन्य दलको अवस्था निकै कमजोर देखाएको छ । धनकुटा नगरपलिका बाहेक अन्यत्र एमालेले ठूलो मतान्तरमा जित्नु र साबिकका गाविस अहिलेका वडाहरुमा अधिकांश ठाउँमा एमालेले जितेपछि जिल्लामा खैलाबैला भएको छ ।
धनकुटामा माओवादी र संघीय समाजवादी फोरमका अवस्था धेरे कमजोर भएको देखिएको छ । नयाँ शक्तिले धनकुटा नगरपालिकामा एउटा वडा जितेर आफ्नो उपस्थिति देखाएको छ ।
धनकुटा जिल्लामा ०७० सालको चुनावमा एउटा क्षेत्र एमालेले र अर्को राप्रपाले जितेका थिए ।