संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सह–अध्यक्ष श्रेष्ठले भने, ‘सिके राउत र केपी ओली एउटै सिक्काका दुईवटा पाटा हुन्, एमाले सत्तामा आए देश टुक्रिन्छ, एमालेले अहिले डबल स्ट्याण्ड देखाईरहेको छ, शान्तिपूर्ण निकासको बाधक एमाले हो ।’
उनले अघि थपे, ‘एउटाले अनन्य राष्ट्रवादको नाममा देश विभाजनतिर लाने, आफ्नै देशको नागरिकलाई अर्काको भन्नखोज्ने, जस्तो गोर्खाल्याण्ड भन्दा एमालेहरुले ताली बजाएको देख्छु, अनि यहाँ चाहीँ थरुहट प्रदेश हुनुपर्यो, मधेश हुनुपर्यो या चाहीँ लिम्बुवान हुनुपर्यो भन्दा चाहीँ खालास है, भारतीय दलाल भन्ने, लाजलाग्दैन यसो भन्न, यो डबल स्ट्याण्र्ड हो ।’
उनले एमाले यो युगकै सबैभन्दाप्रतिगामी पार्टी भएको समेत आरोप लगाए । उनले थपे, ‘राप्रपाले समेत संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने प्रतिबद्धता जनाईसकेको अवस्थामा एमालेले संशोधनलाई रोक्ने प्रयास गरिरहेको छ, त्यसैले एमाले यो युगकै सबैभन्दा प्रतिगामी पार्टी हो ।’ श्रेष्ठले संशोधन प्रस्तावलाई पारित गर्न नदिएर एमालेले मुलुकलाई अनिर्णयको बन्दी बनाउन चाहिरहेको आरोप समेत लगाए ।
नेता श्रेष्ठले कुनै पनि पार्टीले अहिलेसम्म हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर माँग नगरेको दाबी गर्दै भने, ‘म पनि पार्टीको प्रतिनिधित्व गरेर विभिन्न वार्ताहरुमा सहभागी भएको छु, आजसम्म कुनैपनि पार्टीले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माँग गरेकै छैनन्, म दाबाका साथ भन्छु, हुँदै न नभएको कुरालाई एमालेले एजेण्डा भनेर संशोधन रोक्ने कुरा गरेको छ, यो प्रतिगामी कुरा हो ।’
उनले संविधान संशोधन नभए आफूहरुले फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले थपे, ‘संविधान संशोधन पास नभई चुनाव हुन सक्दैन्, प्रदेश निर्वाचन अघि नै संशोधन हुनुपर्छ, नभए हामी आन्दोलन गर्छौं ।’ प्रदेश निर्वाचनभन्दा अघि नै संविधान संशोधन नभए आफूहरुले प्रदेश र प्रतिनिधि सभाको चुनावमा भाग नलिने उनको चेतावनी थियो ।
अहिलेको संशोधन प्रस्तावमाथि आफ्नो पार्टीले अर्को संशोधन हालेको उल्लेख गर्दै सह–अध्यक्ष श्रेष्ठले प्रदेशको निर्वाचनको अघि नै आफूहरुले हालेको संशोधनसहित प्रस्ताव पारित गराउनुपर्ने जिकिर गरे । एमालेले साँचो अर्थमा मुलुकलाई निकास दिन चाहेको हो भने संशोधन प्रस्तावमा समर्थन गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
श्रेष्ठले चुनावी गठबन्धनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग आफूहरु निकटता बढेको उल्लेख गर्दै पार्टी एकता आजको आवश्यकत्ता भएको औंल्याए ।