‘भारतलाई मान्य हुने गरी संविधान संशोधन गर्ने षडयन्त्र’

‘भारतलाई  मान्य हुने गरी संविधान संशोधन गर्ने षडयन्त्र’
राजनीति

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनभन्दा पहिले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

प्रगतिशिल पत्रकार सङ्घ, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनप्रतिनिधिको अधिकार खोस्ने, हिन्दी भाषालाई कामकाजी भाषा बनाउने षडयन्त्रसहितको संविधान संशोधन जनताको पक्षमा नभएको बताउनुभयो ।

उहाँले छिमेकीलाई मान्य हुने गरी संविधान संशोधन गर्ने षडयन्त्रसमेत भएको बताउनुभयो । संविधान सबैलाई मान्य गराउने नाममा संशोधनको बहाना बनाइएको भन्दै संविधान सबैलाई मान्य हुन्छ भन्ने तर्क अवैज्ञानिक भएको उहाँको भनाइ छ ।

उहाँले गणतन्त्र संस्थागत गर्न र संविधानको कार्यान्वयन गर्ने दायित्व जननिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताउनुभयो । ठूला दलका ठूला नेताहरु जसरी पनि सत्तामा बस्ने दाउमा रहेको भन्दै उहाँले संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्ने दायित्व जनप्रतिनिधिको काँधमा आएको बताउनुभयो ।

अहिले संविधान संशोधनभन्दा पनि संविधान कार्यान्वयन गर्नु पहिलो आवश्यकता रहेको उल्लेख गर्दै सत्तामा बस्नेले संविधान कार्यान्वयनको बहानामा सत्ताको बसाइ लम्व्याउन चाहेको उहाँको भनाइ थियो ।

केसीले अहिलेको संसद् कामचलाउ संसद् भएको भन्दै यसलाई संविधान संशोधन गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो । २ नं प्रदेशबाहेकका क्षेत्रमा स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि अझै दुईवटा निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयनको चरणमा पुग्ने भन्दै उहाँले बाँकी रहेका निर्वाचन पनि समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

उहाँले केही पार्टीले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने साटो स्थानीय तहलाई दिइएको अधिकार पनि खोस्ने दाउमा लागेको आरोप लगाउनुभयो । उहाँले ‘थ्रेसहोल्ड’ लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म पनि जान नदिने षडयन्त्र भइरहेको पनि बताउनुभयो ।

Post Comment