नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तादेखि चुनावसम्म माओवादी केन्द्रसँग सहकार्य गरिरहेका बेला महामन्त्री शशांक कोइरालाले भने प्रदेश नम्वर २ मा चुनावी तालमेल नगर्ने बताएका छन् ।
‘माओवादीलाई जंगलबाट कांग्रेसले ल्यायो, त्यसपछि सत्तामा पुरयायो’ विहीबार बर्दिवासमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले भने ‘अब धेरै माओवादीसँग लम्पसार हुनुपर्ने छैन, २ नम्वर प्रदेशमा कांग्रेस एक्लै सक्षम छ ।’ प्रदेश नम्वर २ मा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने घोषणा गरेका कोइरालाले कम्यूनिष्टहरुसँग तालमेल गर्दा कांग्रेसलाई नै घाटा लाग्ने गरेको बताए ।
‘दुई नम्वर प्रदेशमा अरुलाई हराउन कांग्रेस आफै सक्षम, माओवादीको बुई चड्नु पर्दैन’ कोइरालाले भने ‘अहिले कांग्रेसकै बलमा माओवादी उफ्रिरहेको छ, सधै माओवादीको फाइदा र कांग्रेसको घाटा राजनीति हुँदैन ।’
बर्दिवासमा अधिकाँस कांग्रेस कार्यकर्ताले माओवादीसँग चुनावी तालमेल नगर्न आग्रह गरेपछि कोइरालाले कांग्रेसको शत्रृ कांग्रेस नै भएको बताएका छन् । ‘हामी सधै आफ्नै छायासँग डराइरहेका छौ, किनकी कांग्रेसको शत्रृ कांग्रेस नै हो’ कोइरालाले भने ‘पार्टीभित्रको अन्र्तघातका कारण पहिलो र दोस्रो चुनावमा दोस्रो भयौ ।’