राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा विभाजन भएको हो ।
पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणाको नेतृत्वमा नयाँ दल घोषणा गरिएको छ । नयाँ दलको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) राखिएको छ ।
नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिइएको छ । सो पक्षले बहुमत केन्द्रीय सदस्य र सांसदहरु आफ्नो पक्षमा रहेको दाबी गरेको छ । ३७ जना सांसदमध्ये २२ जना नयाँ पार्टीतिर रहेको दाबी गरिएको छ ।
तत्कालिन राप्रपा नेपाल र राप्रपाबीच गत मंसिरमा एकीकरण भएको थियो भने गत फागुनमा एकीकृत महाधिवेशन भएको थियो ।
एकीकरण लगत्तै वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीसहितका केही नेताले पार्टी परित्याग गरी छुट्टै दल गठन गरिसकेका छन् ।
आइतबार वरिष्ठ नेता पशुपति शमसेर राणासहितका नेताहरुले नयाँ दल गठनको घोषणा गरेपछि मंसिरमा भएको पार्टी एकीकरणको राजनीतिक महत्व क्षीण भएको छ ।
यसैबीच एकता महाधिवेशन भएको ६ महिना नपुग्दै पार्टी फुटाउने काम भएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले यसलाई ‘दुर्भाग्यपूर्ण’ संज्ञा दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘एकता महाधिवेशन भएको ६ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण । अधिकांश हस्ताक्षर नक्कली । बिचलित नहुन कार्यकर्तालाई आह्वान ।’
२०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि राप्रपा थापा र राप्रपा चन्दको नामबाट अस्तित्वमा आएका पूर्व पञ्चहरुको पार्टी यस बीचमा थुप्रै पटक जुट्ने र फुट्ने हुदै आएका छन् ।