नयाँ शक्ति पार्टी छाडेका देवेन्द्र पौडेलसहितका नयाँ शक्तिका नेताहरु तथा नेत्रविक्रम चन्द ‘विप्लव’ छाडेको दुई समूह मंगलबार नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
झण्डै दुई वर्षअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानमा लागेका पौडेल पुनः प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।
नेकपा माओवादी केन्द्र, नयाँ शक्ति नेपाल केन्द्रीय संयोजन समिति र नेकपा (माओवादी) बीच पार्टी ध्रुवीकरण नाम दिएको कार्यक्रममा देवेन्द्र पौडेल सबैको आकर्षणको केन्द्र बनेका थिए । विप्लव नेतृत्वको नेकपाका जीवन खत्रीसहितका नेता कार्यकर्ता पनि माओवादी केन्द्रमा समाहित भएका छन् ।
पार्टी एकता तथा ध्रुवीकरण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नै राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता पनि माओवादीमा प्रवेश गर्ने तयारी गरेको बताए ।